Sat, 11 Jul, 2020


मैले श्रुतीलाई भनिदिएँ– विवाह त नेपाली केटासँग नै गर्नुपर्छ
काेमल वली
फरकधार / जेठ १९, २०७७

२०४४ सालमा रेडियो नेपालमा गीत गाउन आएपछि मेरो काठमाडौं आउने क्रम बढ्यो । म काठमाडौं आउँदा मरिचमान सिंहसँग भेट्न गइहाल्थेँ । २०४३ सालको कुरा हुनुपर्छ, राजारानी क्षेत्रीय सवारीका रुपमा दोस्रो पटक दाङ आउने हुनुभयो । मरिचमान सिंह त्यति बेला राष्ट्रिय पन्चायतको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले अन्चलाधीश जगदीश खड्कालाई यो खबर पठाइसक्नु भएको थियो । जगदीश सरले यो कुरा मलाई भन्नुभयो, ‘सवारी चाहिँ घोराहीमा पनि हुनसक्छ, तुलसीपुरमा पनि हुनसक्छ है ।’



उहाँले यो खबर पठाएको कुरा गाउँमा व्यापक भयो । मानिसहरु मलाई भेट्न आउन थाले । उनीहरु रानी ऐश्वर्यासँग आफ्ना कुरा राखिदिन अनुरोध गर्थे । म केही कुरा सुन्थेँ, केही कुरा सुन्दिनथेँ । मेरो आफ्नो तयारी चाहिँ थियो । त्यसमा बुवाले मलाई सहयोग गर्नुभएको थियो । मैले ऐश्वर्या रानीसँग के कुरा भन्ने लेखेर तयार गरेकी थिएँ । त्यसमा मेरो र दाङका महिलाहरुको अध्ययनको विषय र थारुहरुको विषयमा भन्ने भएँ । भनिएको समयमा राजारानीको घोराहीमा सवारी भयो । म पनि गएँ । त्यहाँ निकै भीड थियो । मानिसहरु दर्शन गर्दै, आफ्नो कुरा राख्दै अगाडि बढ्दै थिए । मेरो पालो आयो । मैले भनेँ, ‘सरकार, म कोमल वली । सरकारहरुको निगाहका कारण पढ्न पाएकी छु । अब यसपाली एसएलसी दिँदै छु ।’

त्यो ठूलो कोठामा रानीले महिलाहरुलाई मात्र भेट्नु भएको थियो । अर्को कोठामा राजा वीरेन्द्रले अन्य व्यक्तिहरुलाई दर्शनभेट गर्नुभएको थियो । मेरो पालो आएपछि त्यहाँ सुरक्षामा खटिएका प्रहरीले मलाई अगाडि धकेलिदिए । मैले ठूलो स्वरमा म कोमल वली सरकार भनेकी थिएँ । रानी ऐश्वर्या मुसुक्क हास्नुभयो । अनि एकैछिन यता बस भनेजस्तो हातले इसारा गर्नुभयो । म चुपचाप उहाँको दाहिने साइडमा गएर उभिएँ । केही बेरमा त्यहाँ भीड कम भयो । अनि रानीले मलाई हेर्नुभयो । मेरो हातमा कागज नै थियो । 

मैले सुरुमा रानीलाई विन्ती बिसाएँ, ‘म त किर्तिपुर विश्वविद्यालयको सभासद बन्न चाहन्छु सरकार ।’ त्यसपछि मैले त्यहाँको थारु जाति, संस्कृति तथा महिलाबारे कुरा गरेँ ।’ मैले तुलसीपुरलाई केन्द्रमा राखेर कुरा गरेकी थिएँ । उहाँले तुलसीपुरमा भएको महिला संगठनका लागि दिएको जग्गा सांस्कृतिक कार्यक्रमका लागि प्रयोग गर्दा हुने बताउनु भएको थियो । उहाँले भनेका कुरा त्यहाँ उपस्थित सचिवले टिप्नुभएको थियो । त्यो दिनको समाचार नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । समाचारमा म पनि देखिएछु । काठमाडौंमा भएका मेरा आफन्त र साथीहरुले त्यो कुरा भन्नुभएको थियो । भोलिपल्ट विहान म तुलसीपुर पुगेकी थिएँ, टेलिभिजनमा आएको समाचार हेर्न ।

एसएलसी सकाउँदासम्म ममा धेरै कन्फिडेन्स डेभलप भइसकेको थियो । म खेलकुदमा निकै सक्रिय भएर लागिरहेकी थिएँ । पछि काठमाडौं आएर रेडियो नेपालमा काम गर्न थाल्दा मेरा गीतहरु पनि निकै चलिसकेका थिए । ममा केही गर्न सकिन्छ भन्ने कन्फिडेन्स डेभलप भइसकेको थियो । त्यसैले म कहिल्यै पनि कामहरु गर्न डराउँदिनथेँ, केही भन्न डराउँदिनथेँ, काममा अगाडि बढिहाल्थेँ । मेरा गीतहरु निकै चल्न थालेको कुरा दरबारमा पनि थाहा थियो । मैले रेडियो नेपालमा काम गर्न थालेपछि राजारानी सहभागि धेरै कार्यक्रमहरुमा उद्घोषण गर्न थालिसकेकी थिएँ ।

 

यसअघिकाे भाग:

१८ वर्षअघिकाे दरबार हत्याकान्ड र राजारानीसँगका मेरा सम्झना

 

त्यस्ता कार्यक्रममा जाँदा पनि मैले अवसर छोपेर राजारानीलाई केही कुरा राखिहाल्थेँ । भन्थेँ, ‘सरकार, यस्तो हुनुपर्यो, यस्तो गर्नु पर्ने भयो ।’ २०५४ सालमा मलाई पनि गोरखा दक्षिण बाहु दिइयो । म यति ठूलो सम्मान पाउँदा निकै हर्षित थिएँ । त्यही साँझ गोरखा दक्षिण बाहु पाउनेहरुबीच डिनर कार्यक्रम थियो । डिनर कार्यक्रममा मेरो अधिराजकुमारी श्रुतीसँग भेट भयो ।

म श्रुतीसँग निकै धेरै पटक नजिक हुन चाहन्थेँ, उहाँका कुरा सुन्न चाहन्थेँ, उहाँसँग कुरा गर्न चाहन्थेँ । जतिबेला म नजिक हुन्थेँ, म उहाँसँग कुरा गर्न थालिहाल्थेँ । एकपटक पद्मकन्या क्याम्पसमा कुरा भएको थियो । त्यहाँ मैले पहिलो पटक श्रुती कति खुला मिजासको हुनुहुन्छ भन्ने थाहा पाएको थिएँ । त्यो कार्यक्रममा म एउटा अडियन्स भएर मात्र गएकी थिएँ । म त्यहाँ पनि उहाँ नजिक गएको थिएँ । मलाई श्रुतीबारे बुझ्न किन पनि मन थियो भने उहाँ अधिराजकुमारी हुनुहुन्थ्यो । मलाई लाग्थ्यो– म गाउँको एउटा सामन्य मान्छे त दरबारको छात्रवृत्ति पाएर यति ठूलो कन्फिडेन्स विकास भएको छ भने उहाँमा त्यो विकास कस्तो हुँदो हो ? म सोच्थेँ– दरबारमा हुर्किएकी श्रुती सरकार त के छैन होला ? अर्कोतिर रेडियो नेपालको कर्मचारी भएकाले धेरै अवसर पनि पाउँदै गएँ । राजा वीरेन्द्रको गद्दी आरोहण रजत महोत्सव मूल समारोह समितिमा म पनि थिएँ । रेडियो नेपालमा भएकाले र त्यति बेला गीतहरुका कारण चर्चामा भएकाले यस्ता कार्यक्रममा म पनि हुन्थेँ । पहिले दाङमा हुँदा पनि यस्ता विभिन्न कार्यक्रममा पनि मेरो संलग्नता हुन्थ्यो । त्यही महोत्सवको कार्यक्रमअन्तर्गत हामीले एउटा हाजिरी जवाफ प्रतियोगिता राखेका थियौँ । प्रज्ञा प्रतिष्ठानमा भएको त्यो कार्यक्रमको संयोजक थिएँ म ।

त्यहाँ श्रुतीलाई हामीले प्रमुख अथितिका रुपमा बोलाएका थियौँ । त्यहाँ पनि म उहाँ नजिक गएँ । उहाँको नजिक गएर मैले भनेको थिएँ, ‘सरकारको पेन्टिङ अत्यन्त राम्रो छ, त्यसमा अझ राम्रो गर्नु न सरकार ।’ उहाँले मलाई भन्नुभएको थियो, ‘मलाई तपाईंको सुझाव राम्रो लाग्यो ।’ भेट हुँदा यस्ता कुरा गरिहाल्ने भएकाले मलाई अधिराजकुमारी श्रुतीले नजिकबाट चिन्नुभयो । पछि कार्यक्रमहरुमा भेट्दा उहाँले मलाई के छ तपाईंको खबर भनेर सोध्न नै थाल्नुभयो । विशेषतः मैले कुनै पनि कार्यक्रममा उद्घोषण गरेपछि धेरैले मलाई नोट गर्नुहुन्थ्यो । झन्, दरबार चाहिँ गीतसंगीत तथा कलासँग अत्यन्त निकट थियो । रानी आफैं कलासंस्कृतिबारे निकै जानकार हुनुहुन्थ्यो, राजा पनि यसमा ध्यान दिनुहुन्थ्यो । युवराज दीपेन्द्र पनि निकै ध्यान दिनुहुन्थ्यो, आफैं मादल बजाउनुहुन्थ्यो, नाच्नुहुन्थ्यो ।

अधिराजकुमारी श्रुती पनि गीत संगीतमा र नाचगानमा निकै ध्यान दिनुहुन्थ्यो । एकपटक मेरो आफन्तको विवाह थियो, पानीपोखरीमा । त्यहाँ अधिराजकुमारी श्रुती पनि आउने रे भन्ने कुरा मैले सुनेँ । म श्रुतीसँग भेट्न पाउँछु भनेर नै त्यो विवाहमा छिटो पुगेँ । त्यो समयमा श्रुतीको पनि विवाहको कुरा निकै चलेको थियो । हल्लाहरु निकै चलेका थिए । भारतीय युवराजहरु हेर्न आएका छन्, कुरा चलेका छन्, सलमान खानसँग त श्रुती उभिएको फोटो नै बाहिर आइसक्यो भन्ने हल्लाहरु निकै चलेका थिए ।

हाम्रो दरबारकी अधिराजकुमारीको भारतीय केटासँग विवाह हुने कुरा सुन्दा मेरो मन त्यति खुसी थिएन । म आजसम्म पनि त्यसको कारण थाहा पाउन सक्दिनँ, तर किन किन मलाई श्रुतीको विवाह नेपालबाहिर नहोस् भन्ने लागिरहेको हुन्थ्यो । त्यसैले ती आफन्तको विवाहमा पुगेपछि मैले एउटै कुरा मनमा खेलाइरहेँ– श्रुती सरकार आएपछि म आज यो कुरा भनेर नै छाड्छु । त्यसैले सबैजना विवाहको माहोलमा रमाइरहँदा पनि म श्रुती आउने बाटो हेरिरहेकी थिएँ । उहाँ आए पनि भेट्न पाउँदिनँ होला भनेर मैले त्यहाँ पहिले नै भनिसकेकी थिएँ– मलाई श्रुती सरकारसँग एकै छिन भेट गराइदिनु ल । उहाँले सोधेर भन्छु भन्नुभयो ।

साँझतिर उहाँको सवारी भयो । म अब उहाँलाई भेट्न कतिबेला पाउँला भन्ने कुरामा नै ध्यान दिन थालेँ । केही बेरमा माथिबाट मलाई बोलाइयो । म नयाँ दुलही, श्रुती र उहाँका एडिसी तथा अन्य केही व्यक्ति भएको कोठामा पुगेँ । नयाँ दुलही एउटा सोफामा, अरु अर्को सोफामा र श्रुती कोठामा भएको अर्को सोफामा बस्नुभएको थियो । छेउमा उहाँका एडिसी र अन्य व्यक्तिहरु हुनुहुन्थ्यो । म पुगेपछि मुसुक्क हाँस्नुभयो उहाँ । सोफा देखाउनुभयो । म उभिएरै भनेँ– म कोमल वली सरकार । उहाँले ‘ए’ मात्र भन्नुभयो । पहिले पनि केही न केही भनिरहने भएकाले उहाँले त्यस्तो भन्नुभएको थियो होला । मैले उभिएरै भनेँ, ‘सरकार, यो यहाँ प्रसङ्ग नमिल्न सक्छ सरकार । यदि गल्ती भएमा क्षमाप्राथी छु । केही गल्ती भयो भने मलाई माफी गरिदिनुस् सरकार । एउटा अन्जान सोचेर माफी दिइबक्स्योस् सरकार ।

‘मननयोग्य भएमा मेरोमात्र कुरा होइन, महाराजधिराजसँग भेट भएको छैन, बडामहारानीसँग पनि भेट भएको छैन सरकार । अब सरकारासँग यहाँ भेट भएपछि मैले यो कुरा बिन्ती गर्न खोजेकी हुँ सरकार । ‘कसरी भनौँ भन्ने लागिरहेको छ मनमा । विवाह घरमा भएकाले विवाहको प्रसङ्गमा बिन्ती बिसाउन खोजेकी सरकार । सुन्नमा आएको छ, सरकारलाई हेर्न देशविदेशबाट राजकुमारहरु आउनु भएको छ । त्यसो त सरकारलाई मन नपराउने को होला र ? तर, मलगायत सबै नेपाली जनता कुमार नेपाली नै भए सबै खुसी हुने थिए सरकार, मलाई यही कुरा बिन्ती बिसाउन मन थियो सरकार ।’ मैले यति के भनेकी थिएँ, त्यहाँ ‘पिन ड्रप साइलेन्स’ भयो । हो, मनैदेखि श्रुती सरकारको विवाह नेपालमा होस् भन्ने चाहन्थेँ म ।

मैले यति भनिसकेपछि कोही पनि एक रौं पनि हलचल भएको थिएन, एउटै शब्द सुनिएको थिएन । श्रुती सरकार जोडले हास्नुभयो, ‘हाहाहा ।’ अनि भन्नुभयो, ‘डन्ट वरी, डन्ट वरी, आइ एम थिङ्किङ अन इट ।’

त्यसपछि मैले भनेँ, ‘धन्यवाद सरकार, गल्ती भए माफ गरिदिनुस् ।’ अनि म त्यो कोठाबाट बाहिर निस्किएँ ।

त्यो रात घर फर्किएपछि मलाई निकै आनन्द लागेको थियो । मैले मनको कुरा भनेँ भन्ने भयो । त्यो दिन यो कुरा नभनेको भए सायद मैले राजारानीलाई चिठी लेख्थेँ होला । त्यसको केही दिनपछि नै समाचार आयो– श्रुती सरकारको विवाह गोरख शम्शेर राणासँग हुने । मेरो सौभाग्य ! मलाई पनि दरबारबाट निम्तो आयो । मलाई आएको निम्तो श्रुती सरकार अन्माउने दिनको थियो । त्यो दिन दरबारबाट श्रुती सरकारलाई बग्गीमा चढाएर पठाउने दिन थियो ।

म बोलाएको दिनमा समयमा नै कार्यक्रममा पुगेँ । म त्यहाँ पुगेको केही बेरमा श्रुती सरकारलाई बिदा गरेर पठाउने तयारी सुरु भयो । त्यसपछि त्यहाँको माहोल अचानक बदलियो । सबैजना चुपचाप हुन थाले । बग्गीमा बस्नुभन्दा केही अगाडि देखि नै श्रुती रुन थाल्नुभयो । उहाँले आवाज निकालेर निकै भावुक भएर रुनुभयो । त्यहाँ भएका सबैजना रुनुभएको थियो । ऐश्वर्या रानी पनि घुक्कघुक्क गर्दै रुन थाल्नुभयो ।

राजा वीरेन्द्र पनि अत्यन्त भावुक हुनुभएको थियो । मेरो पनि आँखाबाट आँसु चुहिएको थियो । मनलाई चाहिँ मैले सम्झाएँ– त्यही पारि जान लाग्या त हो, किन रुनु ? आजसम्म पनि यो कुरा सम्झँदा म मनमनै हाँस्छु– त्यति बेला मेरो मनमा खेलेको भावना सम्झिएर । त्यसको तीन दिनपछि दरबारबाट मलाई फोन आयो– कोमलजी, तपाईंको एउटा पार्सल छ, तपाईंलाई कहाँ पुर्याइदिउँ ? मैले भनेँ– म आफैं आउँछु । उताबाट भनियो– होइन, बडामहारानी सरकारबाट बक्सेको पार्सल हो, घरमै छोडिदिन्छु । बडामहारानीले मलाई साडी पठाइदिनु भएको रहेछ । मैले पार्सल खोलेर हेरेँ ।

साडी देखेपछि पो मेरो आँखा रसाए । मलाई त त्यति बेला रुन मन लाग्यो । मैले त्यो साडी तीन ओटा विभिन्न अकेजनमा लगाएकी थिएँ । अहिले पनि मसँग त्यो साडी छ । सम्हालेर राखेकी छु मैले त्यो साडी । त्यसको केही वर्षपछि साँझपख समाचार आयो– श्रुतीलाई प्रसुति गृह लगिएको छ । साँझ ६ बजेको थियो मैले यो समाचार सुन्दा । म त्यहाँबाट प्रसुति गृह गएँ । त्यहाँ पुगेपछि मैले थाहा पाएँ– राजारानी पनि आउँदै हुनुहुन्छ । त्यसपछि म केही बेर त्यहाँ कुरेर बसेँ । म प्रसुति गृहको तल ग्राउण्डमा नै थिएँ । त्यहाँ उपस्थिति जनाउन एउटा रजिस्टर राखिएको थियो ।

राजारानीको सवारी भयो । मलाई त्यहाँका सुरक्षाले त्यहाँबाट हटाउन खोजेका थिए । मैले भनेँ– होइन म कोमल वली, सरकारहरु सवारी भएपछि मात्र जान्छु । त्यहाँ आइपुगेपछि रानी ऐश्वर्या सोझै माथि जानुभयो । राजा तल बस्नुभयो, यत्तिकै टहलिएर । त्यतिबेला मैले राजा वीरेन्द्रलाई भनेँ– सरकार, नमस्कार, म कोमल वली । मैले भनेँ– बधाई छ सरकार, नेपाली जनता, म, हामी खुसी छौँ सरकार । राजा हाँस्नुभयो । केहीबेर त्यहाँ भुलेर म घर फर्किएँ ।

(नाेट: १८ वर्षअघि २०५८ सालमा जेठ १९ गते भएकाे राजदरबार हत्यकान्ड अहिलेसम्म पनि रहस्यमा नै छ  । अहिले नेकपाकी राष्ट्रियसभा सदस्य तथा गायिका काेमल वलीकाे राज दरबारसँगकाे निकटताबारे हामीले गत वर्ष सिरिज गरेका थियाैँ । १९ जेठकाे सन्दर्भमा हामीले त्यही सिरिज पुनप्रकाशन गरेका छाैँ । – सम्पादक । )


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्