Sat, 11 Jul, 2020


एउटा हात्तीको दर्दनाक अन्त्यः तीन दिन पानीमा बसेपछि मृत्यु
फरकधार / जेठ २१, २०७७

दक्षिण भारतको केरलामा एउटा गर्भवती हात्तीको दर्दनाक मृत्युका कारण अहिले मानवतामाथि फेरि अर्को प्रश्न उठेको छ । विस्फोटक पदार्थ मिसिएको खाना खाएकाले यो हात्तीको मृत्यु भएको थियो । 



केही मानिसहरुले हात्तीलाई विस्फोटक पदार्थ मिलाइएको खाना दिएको हुनसक्ने आशंका गरिएको छ ।

त्यहाँको वन विभागका अधिकारीहरुले हात्ती कम्तिमा पनि १५ वर्षको भएको हुनसक्ने अनुमान गरेका छन् । 

विस्फोटक पदार्थ मिसिएको खाना खाएपछि हात्ती यति पीडामा थियो कि तीन दिनसम्म उसले भेलियर नदीमा खडा भएर बस्ने विकल्प छानेको थियो । त्यहाँसम्म वन विभागका कर्मचारी जान सकेका थिएनन् । यसका कारण हात्तीलाई चिकित्सकीय सहयोग गर्न सकिएन ।

अनि पानीमा बस्दा हात्तीको मुख र सुँढ पानीमा नै रहेको थियो ।

साइलेन्ट भ्याली नेसनल पार्कका स्यामुएल पचाउले भनेका छन्, ‘हात्तीले कहाँ विस्फोटक पदार्थ मिसिएको खाना खाएको भन्ने हामीलाई थाहा हुन सकेन । तर, ऊ केवल पानीमा नै बसिरहेको थियो । पछि थाहा भयो कि उसका सबै दाँत टुटेका मात्र थिएनन्, मुख सबै बिग्रिएको थियो ।’ 

पछिल्लो पोस्टमार्टम गर्दा हात्ती गर्भवती भएको पनि खुलेको उनले जानकारी दिएका छन् ।

त्यहाँका एक अधिकारीले हात्ती घाइते भएपछि गाउँबाट भाग्दै निस्किएको तर कसैलाई पनि कुनै क्षति नपुर्याएको उल्लेख गरेका छन् । हात्ती निकै समस्यामा रहेको भए पनि तस्वीरमा त्यस्तो नदेखिएको उनले उल्लेख गरेका छन् ।

अन्तिममा हात्तीले २७ मेमा त्यही नदीमा उभिँदा नै आफ्नो ज्यान छोडेकी थिइन् । यो घटनाले मानवीयतामाथि अर्को गम्भीर प्रश्न उठाएको भारतीय अधिकारीहरुले बिबिसी हिन्दीलाई जनाएका छन् ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्