विवादास्पद अभिव्यक्ति दिएका एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौं– दुई साताअघि एक अन्तवार्तामा दिएको अभिव्यक्ति विवादास्पद बनेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माफी मागेका छन् । शेर्पाले बुधबार एक विज्ञप्ति जारी गरेर आफ्नो विवादस्पद अभिव्यक्तिका लागि क्षमा याचना गरेका हुन् ।

विज्ञप्तिमा उनले अन्तर्वार्ताको क्रममा आफूबाट व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट वा ठेस पुग्न गएकोमा त्यसप्रति हार्दिक क्षमा याचना गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘अनलाइन अन्तर्वार्ताका क्रममा व्यक्त भावनाभन्दा पनि शाब्दिक अर्थमा मात्रै धेरै ध्यान दिइएको छ । तर, मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, धर्म लिंग तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि ।’

अध्यक्ष शेर्पाले एक वेब पोर्टललाई दिएको अन्तर्वार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएका थिए । 

नेपाली सेनासँगको सहकार्यमा तराईका चार जिल्ला (सप्तरी, सिराहा, धनुषा र महोत्तरी)मा ग्रासरुटको कार्यक्रम सुरु गरेको बताउँदै शेर्पाले भनेका थिए, ‘एउटा तराईको बच्चालाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को राष्ट्रियता सिकाउनका लागि हामीले गर्यौँ, तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम पाइन्छ ।’ 

त्यसले गर्दा आर्मीको ब्यारेकमा प्रशिक्षण लिन आउँदा त्यहाँ राष्ट्रिय गीत पनि सिक्ने नेपालको विषयमा चर्चा हुने भएकाले फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले आफूहरुले काम गरेको उनले बताएका थिए । 

सोही विषयमा जेठ १४ गते सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न संसद्मा माग गरेका थिए । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको बीजारोपण गरेको भन्दै श्रीवास्तवले शेर्पामाथि छानबिन गरी आवश्यक कारबाही गर्न सभामुखमार्फत माग गरेका थिए । 



सो विषयमा एन्फाअन्तर्गत नै रहेका ४ जिल्ला फुटबल संघ (काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ)का अध्यक्षले पनि संयुक्त रूपमा एन्फा अध्यक्ष शेर्पालाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । 

शेर्पाको विवादस्पद अभिव्यक्तिबारे मधेसी आयोगले पनि अध्ययन गरिरहेको छ ।



  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १०:३९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया