पहिलो नम्बरमा बस्ने होडका बाबुराम भट्टराई चौथो नम्बरमा !

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले आज निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।

पार्टी दर्ताका लागि यसअघि सूचना दिएको ४५ दिन पुगिसकेको थियो । त्यसैले जसपाका नेताहरु आज निवेदन दिन निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।

उनीहरुले निवेदन पनि दिए ।

तर, योबीचमा पार्टीभित्र जे विवाद भएको छ, त्यो त्यही दिएको निवेदनले प्रष्ट्याएको छ । अर्थात्, पार्टीमा अध्यक्षमा केही मतभेद देखिएको थियो जसलाई निवेदनमा लगाइएको टिपेक्सले स्पष्ट पारेको छ । (हेर्नुहोस्, तलको तस्वीर)

टिपेक्स लगाइएको स्थानमा पूर्वप्रधानमन्त्री तथा जसपाका नेता बाबुराम भट्टराईको नाम थियो । उनको नाममाथि टिपेक्स चलाएर त्यसलाई चौथों नम्बरमा झारिएको छ ।

सुरुमा जसपामा तीन अध्यक्ष रहने निक्र्योल गरिएको थियो । यसमा पार्टीका तीन नेता महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको नाम थियो । यीमध्ये ठाकुर र यादव केन्द्रीय परिषद् अध्यक्ष हुँदै थिए भने भट्टराई संघीय परिषद् अध्यक्ष रहने थिए । 



अनि पार्टीमा शीर्ष नेताहरुबीच भएको छलफलको निष्कर्ष थियो– वरियतामा संघीय परिषद् अध्यक्ष अगाडि हुने । 

यही एउटा कारणले नै डा. भट्टराईको नाममा टिपेक्स चल्यो, उनको नाम पार्टी दर्ताका लागि दिइएको निवेदनको चौथौं नम्बरमा मात्र पुगेन, अब जनता समाजवादी पार्टीमा उनी अध्यक्षको पदमा पनि होइन, वरिष्ठ नेताको हैसियतमा रहने भए । 



‘यो खासमा ठाकुर र भट्टराईबीचको कुराकानी नमिल्दा यस्तो भएको हो,’ नयाँ पार्टी जसपाका एक नेताले फरकधारसँग भने, ‘उहाँहरु दुवैले आफूलाई वरियतामा अगाडि सोच्नु भयो, यसले गर्दा डा. भट्टराईलाई घाटा भयो ।’

तर, उनको यो तर्कलाई डा. भट्टराईले चाहिँ अस्वीकार गरेका छन् ।
 

उनीनिकट रहेका विश्वद्वीप पाण्डेले यसबारे सामाजिक सन्जालमा लेखेका छन् ।

उनले लेखेका छन्– 
कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्ने हो १हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुने हो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहस हो । नेतृत्वलगायतका वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ !


यसबाट पनि प्रष्ट हुन्छ, आज डा. भट्टराईको नाममा लागेको टिपेक्समा जसपामा मतभेद प्रष्ट छ । किनकि डा. बाबुराम भट्टराईले रिट्विट गरेर इन्डोर्स गरेको यो ट्विटमा प्रष्ट भनिएको छ– नेतृत्वको विषयमा पनि अब बस्ने केन्द्रीय समितको बैठकमा सबै मिल्नेछ ।

‘यसो भनिए पनि पार्टी दर्ताका लागि दिएको निवेदनमा नै डा. भट्टराईको नाम काटिनु र अशोक राईको भन्दा पनि तल लगेर राखिनुले पार्टीमा यो विषयमा विवाद छ भन्ने प्रष्ट सन्देश दिएको छ,’ जसपाका ती नेताले भने, ‘यसले कुनै पनि अर्थमा पार्टीमा एउटा नेताले त्याग गरे भन्ने चाहिँ सन्देश दिँदैन ।’

राजेन्द्र महतोसँगको विवाद नमिलेपछि डा. भट्टराईको नाम अध्यक्षबाट काटिएको हुनसक्ने अनुमान पनि उनले गरेका छन् । त्यही भएर पनि उनले आफ्नो नाम महतोभन्दा माथि र अर्का वरिष्ठ नेता अशोक राईभन्दा तल राख्न लगाएको उनको दाबी छ ।

जे होस्, नयाँ पार्टी जसपामा अब यो विवाद कहाँसम्म पुग्छ भन्ने हेर्नका लागि केही दिन पर्खिनुको विकल्प छैन ।

  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार २३:३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया