[भिडिओ] सरकारलाई गगन थापाकाे प्रश्न– याे क्वारेन्टिन हाे कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प ?

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद गगन थापाले क्वारेन्टिनको व्यवस्थापन राम्रोसँग नभएको भन्दै क्वारेन्टिन ‘कन्सन्ट्रेसन क्याम्प’ बनेको बताएका छन् ।  

उनले भने, ‘यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प हो ? हामीलाई यसको जवाफ चाहिन्छ ।’

त्यस्तै, थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक–एक हिसाब सदनलाई जानकारी गराउन माग गरे । उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गरे ।  

उनले भने, ‘यो सरकारले कोरोनाको लडाइँबाट हामीलाई पार लगाउन सक्दैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनाैं । अब हामी प्रश्न गर्छौं । उत्तर चाहन्छाैं  र सरकारलाई जवाफदेही बनाएर छाड्छाैं । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? हामीलाई एक एक कुराको हिसाब किताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो निर्लज्जताको पराकाष्ठा हो ।’  

प्रतिनिधिसभामा आफुहरुले माघदेखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सतर्कताबारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दै बताए ।

उनले भने, ‘न हाम्रो सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को ? के कानुनले गर्दा रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकिएको हो ? के कांग्रेसले रोकेको हो ? कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो ।’



अदालत, संसद्, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भने पनि सरकारले बेवास्ता गरेको, सुदूर पश्चिममा स्वाब संकलन रोकिएको, प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाइ भइरहँदा सरकारले क्वारेन्टिनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए । उनले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनीसमेत दिए ।



  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार १४:१०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया