तिलोत्तमा हत्याकाण्डः मदिरा सेवन गरेर जसेन्द्रले हत्या गरेकाे अनुमान

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० को मैनहवा गाउँमा आज विहान देखिएको त्रास र डर साँझसम्म पनि कायम छ । किनकि मंगलबार विहान उठ्नेवित्तिकै मैनहवाका गाउँलेहरुको मनमा जुन चिसो पसेको थियो, त्यसले उत्पन्न गराएको डर अहिले पनि कायमै छ । किनकि मंगलबार सवेरै विहान त्यहाँका वासिन्दाले थाहा पाए, उनीहरुको छिमेकमा रहेको गाई फार्ममा पाँच जनाको शव छ ।

अनि ती शव मध्यरातमा एक युवाको सनकका कारण त्यहाँ तन्नाले बेरिएर त्यहाँ रहेका थिए । 

झिसमिसे उज्यालोमा नै गाउँलेहरुले थाहा पाए, रामबहादुर पुनको भैंसी फार्ममा काम गर्ने तीन जना र उनीहरुकहाँ आइरहने दुई जनाको शव एकै ठाउँमा थियो ।

त्यसपछि उनीहरुले नै थाहा पाए, छेवैमा रहेको परालको कुनामा एक जना लुकिरहेका छन् । गाउँलेहरुले यसको सुइँको पाएपछि ती युवा भाग्न खोजेका थिए । तर, गाउँलेहरुलाई उनलाई समाते र प्रहरीलाई बुझाए ।

प्रहरी नियन्त्रणमा रहेका ती युवा थिए, सुर्खेतका । र, उनी हुन्, जसेन्द्र सिंजाली । ३१ वर्षका सिंजाली केहीअघि मात्र त्यो गाउँमा आएका थिए । 

‘हामीले अनुसन्धान सुरु गरिसकेका छौँ, उनले साविती बयानमा आफूले हत्या गरेको स्वीकार पनि गरेका छन्,’ एसपी हेमकुमार थापाले फरकधारसँग भने, ‘अहिलेसम्म बुझ्दा यो हत्या किन भएको थियो भन्ने गुह्य कुरा थाहा भएको छैन, सिंजालीको यसअघि यी पाँचै जनासँग कुनै रिसइबी भएको वा बारम्बार झगडा पर्ने गरेको पनि थिएन भन्ने छ ।’



तर, सिंजाली र हत्या गरिएका पाँच जना माधव मुसहर (४१), उनकी श्रीमती जानकी मुसहर (३७), पोखराज मुसहर (१४), आशिष (१७) र करण (१७) को सम्बन्ध खासमा के हो भन्ने अहिलेसम्म खुल्न सकेको छैन । किनकि सिंजालीलाई त्यो ठाउँमा देखिएको लामो समय भएको थिएन । 

घटना भएको वडा तिलोत्तमा १० का वडाध्यक्ष व्यासमुनि चौधरीले फरकधारसँग भने, ‘उनी यहाँ आएको धेरै भएको थिएन, वैशाखमा आएका हुन् भन्ने सुनिएको छ । त्यसैले सिंजालीबारे धेरै कुराहरु हामीलाई थाहा नै भएको छैन ।’ उनले सिंजाली सुर्खेतको भएको चाहिँ थाहा भएको बताए ।



भैंसी फार्म गर्नका लागि रामबहादुर पुनले एकान्तमा गोठ बनाएका थिए । उनको फार्ममा काम गर्नेहरु त्यहाँ नै बस्थे । कोरोनाको डर र लकडाउनको समय भएकाले पनि रुपन्देहीमा पछिल्ला दिनमा चहलपहल कम थियो । त्यसैले पनि हुनुपर्छ, घटनाबारे कसैले पनि समयमा सुइँको पाएनन् ।

तर, अब आशंकाहरु उब्जिन थालेका छन् । प्रहरीले घटनाको अनुसन्धान त सुरु गरेको छ, घटनाबारे गाउँमा गाइँगुइँ पनि बढ्न थालेको छ ।

‘घटनाको प्रकृति हेर्दा एक जनाले मात्र यति ठूलो अपराध गरेको होला भन्ने अनुमान गर्न सकिँदैन,’ वडाध्यक्ष चौधरीले आफ्नो आशंका बताए, ‘स्थानीय पनि एक जनाले मात्र त्यस्तो गर्न सम्भव जस्तो नदेखिएको बताउँछन् ।’

यसमा केही तर्कहरु आएका छन् । पहिलो त पाँच जनामाथि एक जनाले त्यस्तो निर्मम हत्या गर्न सम्भव नहुने जस्तो देखिएको तर्क स्थानीयको छ । अर्को, सबै जनाको शव तन्नाले बेरिएको थियो । त्यसैले अरु कसैले उनीहरुको शवलाई त्यहाँबाट अन्यत्र कतै लैजान खोजेको हो कि भन्ने आशंका पनि छ । अनि मृतक माधव र उनकी श्रीमती अलि टाढा सुते पनि शव एकै ठाउँमा देखिएकाले उनीहरुको हत्यापछि घिसारिएको हो कि भन्ने अनुमान छ ।

‘त्यसैले आशंका जन्मिएका हुन्,’ चौधरीले भने ।

अर्को आशंका चाहिँ घटना मदिरा सेवनपछि जसेन्द्रको सनकका कारण भएको हुनसक्ने पनि छ । किनकि घटनास्थलमा मदिराको खाली बोतल भेटिएको प्रहरीले अनुसन्धानमा पाएको छ । ‘उनले मदिरा सेवन गरेकै कारण यस्तो गरेको पनि हुनसक्छ,’ एसपी थापाले फरकधारलाई बताए । 

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले स्थानीयको कुरा उद्धृत गर्दै फरकधारलाई भने, ‘खासमा भैंसी फार्मममा काम गर्ने तीन जना रहेछन्, पोखराजका साथी आशिष र करण चाहिँ हिजो रातिमात्रै फार्मममा आएका रहेछन् ।’

घटनाबारे अनुसन्धानका लागि प्रहरीले विशेष समिति बनाएको छ । घटनामा संलग्न भएको आशंका गरिएका जसेन्द्रले पनि साविती बयानमा आफ्नो अपराध स्वीकारेका छन् ।

  • प्रकाशित मिति : जेठ २७, २०७७ मंगलबार २०:२०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया