तीन चरणमा खुल्दैछ लकडाउन, कुन चरण कति दिन, केके कहिले खुल्ने ?

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि ११ चैतबाट लगाइएको लकडाउन आजबाट खुकुलो हुँदैछ । सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउनलाई तीन चरणमा खोल्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार यो खाका तयार गरिएको हो । 

सरकारले लिएको निर्णयअनुसार अब तीन चरणमा पहिलो चरण २१ दिनको हुनेछ । त्यसपछिका दुई चरण १५–१५ दिनका हुनेछन् ।

यी तीन चरण पूरा भएपछि सरकारले कोरोनाभाइरस संक्रमणको स्थितिलाई विश्लेषण गर्ने र पुरानै अवस्थामा विभिन्न सेवा तथा व्यवसायको सुचारु गर्ने बताइएको छ ।

सरकारले तयार पारेको खाकाअनुसार पहिलो चरणमा बिहीबारबाट अत्यावश्यक सेवाहरु सुरु हुने भएका छन् ।

सरकारका अनुसार निम्न सेवाहरु बिहीबारबाट सुरु हुनेछन्ः



​स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत
औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी
पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण
फोहोरमैला व्यवस्थापन
विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा
बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा
सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य
कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य
उत्पादनशील उद्योग
निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय
विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)
निर्माण कार्य (निजीसमेत)
नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण
रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा
क्वारेन्टिनका लागि तोकिएका होटल
बिजुलीका सामान बिक्री र मर्मत
विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप
पुस्तक पसल तथा स्टेसनरी
सबै प्रकारका ढुवानी सेवा
अत्यावश्यक सेवाका कार्यालय
अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी) 

तर, यो पहिलो चरणमा पनि सरकारले धेरै भीडभाड हुने ठाउँहरुमा चाहिँ लकडाउन जारी राख्ने योजना बनाएको छ । यसमा सबै शैक्षिक संस्थासहित सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, जात्रा, मेला, सभा, सम्मेलन, धार्मिक स्थल, जिम, खेलकुदप्रतियोगिताहरुमा लकडाउन जारी रहने बताएको छ ।



सरकारले २१ दिनसम्म यो पहिलो चरणलाई अगाडि बढाएको हो । त्यसपछि बल्ल दोस्रो चरण सुरु हुने भनिएको छ । दोस्रो चरणमा सरकारी कार्यालय, निजी कार्यालयहरु ७५ प्रतिशत कर्मचारी रहने गरि खुलाउने भनिएको छ । 

दोस्रो चरणमा रेष्टुरेन्ट तथा खाजा घरहरु पनि खुल्नेछन् । तर, उनीहरुले एउटा टेबलमा २ मिटरको दूरी कायम गर्नु पर्ने हुन्छ । 

दोस्रो चरण  १५ दिनसम्म लागु गरेपछि सरकारले अन्य सेवाहरु पनि खुल्ने भएको छ । तेस्रो चरणमा मात्र एकबाट अर्को जिल्लामा जान पाइने खाका तयार भएको छ ।

यो चरण पनि १५  दिन लागु गर्ने सरकारको तयारी छ ।

  • प्रकाशित मिति : जेठ २९, २०७७ बिहीबार ८:३७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया