बोता ममको झेलः पानीमा लिन्छ १०० प्रतिशतभन्दा बढी नाफा, दिन खोज्दैन बिल

काठमाडौंमा खाजाको पर्याय बनेको छ, मम । काठमाडौंका चोकचोकमा मम पसलहरु लकडाउन नहुँदो हो त अहिले पनि १२ घन्टा नै भीडभाडमा देखिन्थे । 

ममको क्रेज र यसको व्यापारका कारण पछिल्लो समय काठमाडौंमा पनि मम पसलहरुका चेन खुल्न थालेका छन् ।
 

यहीमध्ये एक हो, बोता मम । २१ मे २०१५ मा स्थापना भएको बोता ममले काठमाडौंका ७ ठाउँमा आफ्ना शाखा विस्तार गरिसकेको छ । ममका लागि अब चर्चित नाम बनिसकेको बोताले आफ्ना ग्राहकलाई चाहिँ अनावश्यक ठगिरहेको पाइएको छ । 

र, यो ठगी उसले गरेको छ, पानीमा । 

सामान्यतयाः काठमाडौंमा मिनरल वाटर भनिने बोतलमा एक लिटर पानीलाई २० रुपैयाँ लिइन्छ । तर, बोताले आफ्नै ब्रान्डमा निकालेको पानीलाई ग्राहकसँग ५० रुपैयाँ लिने गरेको पाइएको हो । यो उसैको पानीको बोतलमा मार्क गरिएको मूल्यभन्दा सत प्रतिशत बढी हो । बोतलमा अधिकतम बिक्री मूल्य २५ रुपैयाँ राखिएको छ ।

हामीले पानी किन्यौँ, बोतलमा मूल्य २५ रुपैयाँ लेखिएको थियो, तर हामीसँग ५० रुपैयाँ लिइयो,’ लकडाउनमा पनि विभिन्न आउटलेट खोलेर मम बेचिरहेको बोताको कमलपोखरी शाखामा केही दिनअघि मम खान पुगेका एक ग्राहकले भने, ‘हामीले किन यसरी लेखिएको मूल्यभन्दा बढी लिनुहुन्छ भन्दा उनीहरुले जवाफ दिनु त परकै कुरा, पानीको बिल नमाग्न पनि अनुरोध गरे ।’
 



बोताले आफ्नो उत्पादन ममको जति पैसा लिए पनि मूल्य सूचीमा राखेपछि त्यसलाई तिरेर खाने वा नखाने ग्राहकको रोजाइ भएको तर आफ्नै ब्रान्डमा राखिएको पानीमा त्यसरी मूल्यभन्दा बढी लिन नपाइने ती ग्राहकको दाबी छ । 

मूल्य त बढी लियो नै,’ उनले फरकधारसँग भने, ‘त्यसमाथि बोताले बिल माग्दा हामीलाई एक घन्टासम्म बिल दिएन । उनीहरुले आफ्नो स्टोरमा कुनै भ्याट बिल नभएको भन्दै पछि आउन भने । हामीले केही समय कुरेर नै बिल लियौँ ।’



यसबारे बुझ्न खोज्दा कमलपोखरी बोताका म्यानेजर भुवन आचार्य हाम्रो सम्पर्कमा आए । तपाईंहरुले पानीको मूल्य नै सतप्रतिशतभन्दा बढी नाफा लिनुहुन्छ रे नि हो भन्दा उनले भने, ‘त्यस्तो होइन, त्यो दिन गल्तीले त्यस्तो भएको हो ।’ काउन्टरमा ‘नयाँ भाइ’ त्यही दिनमात्र आएकाले त्यस्तो भएको उनको दाबी थियो । 

तर, उनले बिल दिन भएको ढिलाइबारे केही बताएनन् । 

आचार्यले केही समयअघिसम्म बोता ममले ग्राहकलाई रेस्टुरेन्टमा नै बसेर खाँदा पनि त्यही पानी बेचिरहेको र त्यति बेला पनि ५० रुपैयाँ प्रतिलिटर नै लिएको पनि स्वीकार गरे ।

‘उनीहरुले बिल दिनै खोजेका थिएनन्, हामीले निकै कर गरेपछि मात्र बिल लिन पायौँ,’ ती ग्राहकले भने, ‘बिल पनि तीन पटक काटे । पहिलो पटक उनीहरुले केओटीलाई नै बिल बनाए, दोस्रो पटक ५० रुपैयाँमा पानी बेचेर २५ रुपैयाँको बिल दिए र तेस्रो पटक बल्ल पचास रुपैयाँको बिल दिए ।’

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजभन्दा ८ वर्षअघि नै कुनै पनि उत्पादनमा लगाइएको अधिकतम बिक्री मूल्यभन्दा बढी मूल्य कुनै पनि सामानको लिन नपाउने भन्ने उल्लेख गरिएको छ । तर, काठमाडौंमा अधिकांश रेष्टुरेन्टहरुमा ग्राहकलाई पानी किन्न बाध्य बनाइन्छ र पानीको मूल्यमा नै चर्को नाफा लिने गरिएको पाइन्छ । यसलाई अहिलेसम्म नियामक निकायले अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन सकेको छैन ।

त्यसैको पछिल्लो उदाहरण हो, बोता ममले पानीमा गरिरहेको झेल । 

विश्वमा अन्य देशका अभ्यासलाई हेर्ने हो भने रेष्टुरेन्टहरुले पानीलाई बढी मूल्यमा बेच्न नपाइने नियम लगाइएको छ । भारतमा पनि आजभन्दा तीन वर्षअगाडि नै रेष्टुरेन्टमा पानीको मूल्य पानीको बोतलमा लेखिएको भन्दा धेरै लिन नपाइने नियम लगाइएको थियो । अहिले भारतमा पनि रेष्टुरेन्टमा र बाहिर बजारमा किन्दा एक लिटर पानीको मूल्य बराबर हुने गरेको छ ।

तर, नेपालमा कतिपय रेष्टुरेन्टहरुले एक लिटर पानीको बोतललाई नै सय रुपैयाँसँग बेच्न खोज्छन् । नेपालमा एक लिटर मिनरल वाटरको बोतललाई बाहिर पसलमा २० देखि २५ रुपैयाँ पर्ने गरेको छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १३:११:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया