प्रदर्शनकारीले राष्ट्रिय गान बजाए, प्रहरी टक्क अडिए र स्यालुट गरे

विश्व महामारी कोरोनाभाइरस (कोभिड १९) अहिले नेपालका लागि पनि ठूलो समस्या भइसकेको छ । नेपालमा अब प्रत्येक दिन २ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । हिजो र आजमात्र कोरोनाका कारण देशमा २ जनाले ज्यान गुमाइसकेका छन् । 

तर, कोरोना नियन्त्रणमा सरकारले जे गरिरहेको छ, त्यो पर्याप्त देखिएको छैन । 

सरकारको अकर्मण्यताका कारण अब दैनिक देशभरका सहरहरुमा सरकारविरोधी नारा लाग्न थालेका छन् । प्रदर्शनकारीहरु काठमाडौंमा कहिले बालुवाटारमा भेला भएर त कहिले माइतीघरमा भेला भएर सरकारविरुद्ध नारा लगाइरहेका छन्, सरकारलाई थप सचेत बन्न आग्रह गरिरहेका छन् ।

तर, सरकारले यी मागहरु सुन्न खोजिरहेको छैन । प्रदर्शनकारीहरुको अहिलेको माग सरल र सहज छन्, आम नेपाली नागरिकले चाहेका मागहरु छन् ।

प्रदर्शनकारीहरु भनिरहेका छन्– कोरोना परीक्षणमा पिसिआर टेस्ट बढाउ, कोरोनाको हिसाबकिताब पारदर्शी गर । 

सरकारसँगका यी माग सामान्य हुन्, अत्यावश्यक पनि हुन् । तर, कोरोना नियन्त्रणमा सुरुमै ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिद गरेको सरकारले यी सबै मागहरुलाई दबाउन प्रहरीलाई परिचालन गरेको छ । अनि प्रहरीले आफ्नो स्वास्थ्यको सुनिश्चितता होस् भनेर माग गरेका आम नागरिकलाई लाठी बर्साएको छ, पानीको फोहोरा हानिरहेको छ । 



तर, सरकार नभएको महसुस गरिरहेका नागरिकले प्रहरीका यी व्यवहारलाई वास्ता नगर्ने देखिएको छ । त्यसैले हुनुपर्छ, स्वतस्फूर्त आएका यी प्रदर्शनमा अब नागरिकहरु थप आन्दोलित हुँदै छन् ।

यसकै उदाहरण हो, शनिबार माइतीघरमा मण्डलामा भेला भएको एउटा ठूलो समूह । 



शनिबार माइतीघर मण्डलामा जति प्रदर्शनकारी थिए, यो निकै ठूलो थियो । प्रदर्शनकारीहरुले गरेको यो आन्दोलनमा प्रहरीको संख्या पनि उल्लेख्य थियो । 

तर, शनिबार अरु दिनजस्तो प्रहरी हाम्रो मामा, प्रहरी हाम्रो साथी, प्रहरी हामीलाई नपिट लगायतका नारा कम लाग्न थाले । 

बरु त्यहाँ प्रहरीले जुन कदम देखायो, त्यसको अहिले सामाजिक सन्जालमा निकै चर्चा भइरहेको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न माइतीघरमा पुगेको प्रहरीले जब प्रदर्शनकारीले राष्ट्रिय गान बजाएको सुने, उनीहरु टक्क अडिए र स्यालुट गरे । 

प्रदर्शनकारीले बारम्बार प्रहरीले आफूमाथि दुव्र्यवहार गरिरहेको आरोप लगाइरहेको यो समयमा आएको प्रहरीको यो कदमको सामाजिक सन्जालमा अहिले व्यापक प्रशंसा भइरहेको छ । 
 

  • प्रकाशित मिति : जेठ ३१, २०७७ शनिबार १३:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया