राष्ट्रिय सभाबाट नेपालको संविधान दोस्रो संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौं– राष्ट्रिय सभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आइतबारको दोस्रो बैठकमा  कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाबाट प्राप्त सो प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल उठेका जिज्ञासामा उनले  विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै ‘नेपालका सबै राजनीतिक दलहरु राष्ट्रियताका सवालमा एक हुन्छन्’ भन्ने पुष्टि भएको उल्लेख गरिन् ।  उनले संविधान संशोधनको विषय नेपालको आन्तरिक विषय भएको र  यसमा छिमेकीले टिप्पणी नगर्दा राम्रो हुने बताइन् । उनले भनिन्– ‘भारतसँग हामी सुमधुर सम्बन्ध राख्न चाहन्छौँ’ उनले अद्यावधिक नेपालको नक्साअनुसार संविधानको अनुसूची–३ सच्याउने अभिप्रायले ल्याइएको संविधानको दोस्रो संशोधनलाई समर्थन गरिदिन आग्रह गरिन् ।

यस अघि सो प्रस्ताव माथिको छलफलमा नेपाली काँग्रेसका प्रकाश पन्थले नयाँ नक्सा जारी भएपछि अब भूमि फिर्ता ल्याउन पहल गर्न आवश्यक रहेको बताए । नेकपाका सुमनराज प्याकुरेल, नेकपाका मायाप्रसाद शर्मा र गोपीबहादुर सार्की अछामीले अब गुमेको भूमि फिर्ता ल्याउन एकजुट हुन आग्रह गरे । 

नेपाली काँग्रेसका तारादेवी भट्टले सिमानामा बस्ने नेपालीले धेरै दुःख पाएका उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्मको मिचिएको भूमि फिर्ता ल्याएर आफ्नो तारबार गर्नुपर्नेमा जोड दिए ।  नेकपाका भगवती न्यौपानेले सरकारको ऐतिहासिक निर्णयले नेपाली नागरिक  राष्ट्रियताको भावनाले ओतप्रोत भएको हुँदा नेपाली भूमि फिर्ता  गर्ने राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने धारणा राखे । 

सोही पार्टी नेकपाका जीवन बुढा, रामलखन चमार, दीपा गुरुङ र चक्रप्रसाद स्नेहीले नेपालको सीमारेखा स्पष्ट पारेर नक्सा पास गर्नु ऐतिहासिक काम भएको उल्लेख गर्दै भूमि फिर्ता लिन पनि एकताबद्ध भएर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए ।

नेकपाका खीमकुमार विक र महेशकुमार महराले सीमारक्षा गर्ने विषयमा राष्ट्रिय एकता भएको हुँदा नेपालको भूभाग भन्ने नेपालसँग स्पष्ट प्रमाण भएको हुनाले फिर्ता ल्याएर चलनभोग गर्नुपर्ने धारणा राखे । नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझीले नेपालको भूभाग फिर्ता ल्याउने विषयमा पूर्णरूपमा समर्थन रहेको र कूटनीतिक वार्तामार्फत प्रमाणका आधारमा नेपालको भूमि भएको पुष्टि गर्नुपर्ने बेला आएको बताए । राष्ट्रियसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने छ । 





  • प्रकाशित मिति : जेठ ३२, २०७७ आइतबार १६:१४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया