१० जेठमा रुकुम पश्चिममा जातीयताकै कारण नवराज विक र उनका पाँच जना साथीहरुको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ ।
प्रहरीले निकालेको यो निष्कर्ष र गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वमा पनि बनेको छानबिन समितिले तयार पारेको निष्कर्ष पनि मेल खाने देखिएको छ ।
यो घटनामा नवराज विककी प्रेमिकाले बाबु र दाइहरुले योजना बनाएर गाउँलेसँग मिलेर उनको हत्या गरिएको हुनसक्ने विश्वास आफूलाई भएको बताएकी छिन् ।
२०७५ फागुनमा पहिलो पटक आफ्नो र नवराजको चिनजान भएको र त्यसपछि कुराकानी हुन थालेको उनले आफ्नो बयानमा बताएकी छिन् । प्रहरीलाई दिएको उनको बयानअनुसार उनी दुई पटक नवराज विकको घरमा पनि पुगेकी थिइन् । नवराजले पछिल्लो समय विवाह गर्ने प्रस्ताव राख्दा आफू सानै भएको जवाफ उनले दिएकी छिन् ।
‘विवाह गरौँ भन्ने कुरा गरेको थियो तर मैले मेरो उमेर सानो छ भन्दै आएकी थिएँ,’ उनले प्रहरीलाई भनेकी छिन् ।
उनले नवराज विक १० जेठको त्यो घटनाअघि पनि दुई चार पटक आफ्नो गाउँमा आएको पनि बताएकी छिन् । १० जेठमा चाहिँ विक आफ्ना १९ जना साथीहरु लिएर प्रेमिकाको गाउँमा पुगेका थिए । त्यही क्रममा उनी र उनका पाँच जना साथीहरुको निकै क्रुर र अमानवीय ढंगले हत्या भएको बुझिएको छ ।
युवतीले त्यसअघि पनि नवराज विक उनका साथीहरुसँग गाउँमा आउँदा आफ्ना बाबुले थाहा पाएको र उनलाई प्रहरीमा बुझाएको बताएकी छिन् ।
तर, १० जेठमा चाहिँ नवराज र उनका साथीहरु आएको आफूलाई थाहा नभएको उनले बताएकी छिन् । तर, बहिनी र आमाहरुलाई यो कुरा थाहा भएको उनले बताएकी छिन् ।
नवराजको हत्या भएको भन्ने खबर आफूले भोलिपल्ट मात्र थाहा पाएको र घटनास्थलमा आफू जाँदा पनि नगएको उनको बयानमा उल्लेख गरिएको छ ।
‘भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुरा गर्दा मात्र नवराजको हत्या भयो भन्ने मैले थाहा पाएकी थिएँ,’ उनले भनेकी छिन्, ‘मलाई विश्वास छ, दाइ र बुबाहरु मिलेर उनको हत्या गरेका हुन् ।’
युवतीका बाबुले पनि नवराजलाई देखेपछि आफूहरुले लखेटेको बताएका छन् । उनले बताएअनुसार नवराज र उनका साथीहरुलाई कम्तिमा पनि चार किलोमिटरसम्म लखेटिएको थियो ।
युवतीका बाबुका अनुसार नवराजका एक साथीलाई चाहिँ गाउँका युवाहरु मिलेर कुटपिट गरेका थिए । पछाडिबाट ढुंगा हानेर नवराजको समूहलाई आफूहरुले लखेटेको युवतीका बाबुले बताएका छन् ।
आफू पनि घटनास्थलमा भएको र नवराजहरु बच्नका लागि भेरीको बीचमा पुग्दा पनि गाउँलेहरुले ढुंगा हानेको उनले बताएका छन् । नदीमा नपसेका पाँच जनालाई पनि कुटपिट गरिएको उनले बताएका छन् ।
युवतीका दाइले पनि यसलाई स्वीकार गरेका छन् । बयानमा उनले नदीको बीच भागमा पुगिसक्दा पनि नवराजलाई आफूहरुले कुटपिट गरिरहेको बताएका छन् । ‘पाँच जना केटाहरुलाई कुटपिट गरेर नियन्त्रणमा लिएका हौँ,’ उनले भनेका छन् । उनले नवराज र उनीहरुको मृत्यु भएपछि चाहिँ आफूहरुले भेरी नदीमा फालिदिएको पनि बयानमा बताएका छन् ।
उता, नवराजकी प्रेमिका भनिएकी युवतीको पछिल्लो समय नवराजसँग सम्बन्ध नराम्रो भएको पनि बयानमा खुलेको छ । ‘म उसको घरमा दुई पटक गएकी थिएँ, तर बस्नका लागि मात्र,’ युवतीले आफ्नो बयानमा भनेकी छिन्, ‘तर, उनको परिवारले त मलाई विवाह गरेर बस्न आएको सोच्नु भएको रहेछ । मैले नवराजले विवाहको प्रस्ताव गर्दा कहिल्यै मानेकी थिइनँ, म सानै छु भनेकी थिएँ ।’
युवतीले आफूले नवराजलाई फेसबुकमा ब्लक गरेको र पछिल्लो समय नवराज र आफ्नी बहिनीको कुराकानी पनि भएको बताएकी छिन् ।
पहिलो पटक युवतीको घरमा पुगेका नवराजलाई युवतीको परिवारले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको थियो । ‘त्यसपछि उनी फेरि आए दाइहरुले मारिदिने योजना बनाउनु भएको थियो,’ युवतीले बयानमा भनेकी छिन् ।
अब नवराजकी प्रेमिका भनिएकी युवती र उनकी आमालाई ६ जनाको हत्या गर्नेहरूको मतियार भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको छ। आइतबार दायर गरेको अभियोगपत्रमा उनका बाबु र दाजु, वडाध्यक्ष सहित ३२ जनाले ६ जना युवालाई कुटीकुटी क्रुरतापूर्वक मारेको उल्लेख छ।
उनीहरूविरूद्ध क्रुरतापूर्वक हत्या जातीय छुवाछुत र ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइएको छ। क्रुरतापूर्वक हत्या गरेकोमा कानुनअनुसार बाँचुन्जेल कैद सजाय हुनु पर्ने माग सरकारी विकल कार्यालयले गरेको छ। जातीय छुवाछुतमा पाँच वर्षसम्म कैद र क्षतिपूर्ति अनि ज्यान मार्ने उद्योगमा १० वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।