भारत–चीनबीच बढ्दो तनावः ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ, नेपालको सीमा अझै मिचिन्छ’
फरकधार / ४ असार, २०७७
गलवान घाँटी जहाँ भारत र चीनबीच तनाव बढ्दाे छ ।

पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच सोमबार राति भएको झडपमा कम्तिमा पनि २० जना भारतीय सैनिक मारिएका छन् । घटनामा चिनियाँ सैनिक पनि हताहत भएको समाचार बाहिर आइरहेका छन् । तर, चीनले यसबारे अहिलेसम्म कुनै औपाचारिक सूचना दिएको छैन ।



चिनियाँ र भारतीय सैनिकबीच झन्डै दुई महिनायता यही ठाउँमा बेलाबेलामा रस्साकस्सी भइरहेको थियो । बीचमा भारत र चिनियाँ अधिकारीबीच वार्ताको प्रयास पनि नभएको होइन, तर वार्ता सकारात्मक भएको दुवै देशको दाबीबीच सोमबार राति फेरि त्यहाँ दुई सैनिकबीच झडप भयो ।

यो यही ठाउँ हो, जहाँ सन् १९६२ मा पनि चीन र भारतबीच युद्ध भएको थियो । अब चिनियाँ सन्चारमाध्यमले भारतलाई यसपटक पनि स्पष्ट सन्देश दिएका छन्– यसपटक पनि चीन युद्ध गर्न तयार छ ।



पछिल्लो समय यही स्थानमा भारत र चीनले दुवै देशतर्फ विकासलाई पनि विशेष प्राथमिकता दिएका छन् । यही विकासका कारण हाम्रा यी दुई छिमेकीबीच त्यहाँ झडप भएको हुनसक्ने अनुमान गरिएको छ ।



‘उनीहरुबीच परम्परागत दुश्मनी नै हो,’ अन्तराष्ट्रिय मामिलाका जानकार रुपक सापकोटाले फरकधारसँगको कुराकानीमा भने, ‘सन् १९६२ मा यी दुई देशबीच जुन झडप भएको थियो, त्यही झडपको निरन्तरताका रुपमा अहिलेको झडप भएको हुनसक्छ ।’

सन् १९६२ मा चीन र भारतबीच सीमा विवादका कारण युद्ध नै भएको थियो । यो झडप पनि त्यही युद्धको ‘ह्याङओभर’का रुपमा लिन सकिन्छ । 

जे होस्, सोमबार लद्दाखमा भएको झडपमा यी दुई देशले आफ्ना केही सेना गुमाएका छन् र दुवै देश एकअर्कालाई आरोप प्रत्यारोपमा व्यस्त छन् । चीनले यसको मुख्य कारण भारत मानिरहेको छ र भारतीय सेना आफ्नो क्षेत्रमा आएर विभिन्न गतिविधि गर्दा यस्तो भएको प्रतिक्रिया दिएको छ । अर्कोतिर, भारतले चिनियाँ सेनाले आफ्नो सीमा मिचेको र फलस्वरुपः यो घटना भएको जानकारी दिएको छ । 

योसँगै छिमेकी मुलुक भारतका लागि अब चीन, नेपाल, बंगलादेश र पाकिस्तानसँग चरम रुपमा सीमा विवाद निम्तिएको छ ।

बिर्सनु हुँदैन यी दुवै विश्वशक्तिले यो झडप सीमा विवादको नाममा मात्र गरेका होइनन् । ‘अरु पनि सहायक कारण छन्,’ सापकोटाले भने, ‘दुवै देश राजनीतिक, सैन्य तथा आर्थिक हिसाबमा पनि बलियो बन्दै गएका छन्, यसले गर्दा पनि यी दुई देशबीच झडपको स्थिति बनेको हुनसक्छ ।’

फेरि भारत र चीनबीच पछिल्लो एक दशकमा सीमामा सेनाहरुबीच नै झडप भएको यो पहिलो पटक होइन । सन् २०१७ मा पनि भारत, चीन र भुटानको त्रिदेशीय सीमानामा रहेको दोक्लाममा पनि सानातिना झडप भएका थिए । त्यहाँ चीनले एकतर्फी सडक बनाउन थालेपछि भारतले त्यसलाई अवरुद्ध बनाउन थालेको थियो ।

‘भारतले लिपुलेक जस्तै चीनसँग जोडिएका ६५ वटा ठाउँमा पूर्वाधार निर्माण गरिहेको छ । चीनको पनि यही रणनीति छ । यो सबै सीमा सुरक्षाका लागि हो,’ सापकोटा भन्छन्, ‘सीमा समस्या समाधान नभएसम्म झडप चलिरहने चाहिँ निश्चित छ ।’

अनि यो समस्यालाई यी दुई देशले कूटनीतिक तरिकाले समाधान गर्ने प्रयास गरिरहने पनि सापकोटाको बुझाइ छ ।

अब प्रश्न उठ्छ, नेपालको सीमाना जोडिएका र नेपाललाई सबैभन्दा बढी सहयोगको आश रहेका यी दुई छिमेकीको यो झडपका कारण नेपालमा कस्तो समस्या पर्ला ? 

‘भारत र चीनबीच लद्दाखमा भएको तनाव नेपालका लागि साँढेको जुधाइ, बाच्छाको मिचाइ हो,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘भारत र चीनबीच जुन झडप भएको छ, त्यसले नेपालको सीमाना थप मिचिने खतरा बढाएको छ ।’

नेपाल चीनतिर ढल्किएको भारतको बुझाइका कारण नेपाल र चीन दुवैसँग सीमा विवाद हुँदा भारतले फेरि नेपाललाई दुःख दिने सम्भावना बढ्न थालेको अनुमान रोकाको छ ।

अर्कोतिर, नेपालीहरु भारतीय सेनामा प्रशस्त छन् । चीनसँगको झडप थप बढ्दै जाँदा भारतले सीमामा नेपाली सेनाहरुलाई अगाडि बढाउने सम्भावना पनि रोका देख्छन् ।

‘भारतले युद्धमा सधैँ गोर्खा फौजलाई अगाडि सार्ने गरेकाले चीनविरुद्ध पनि उनीहरुलाई नै परिचालन गर्नसक्छ,’ उनले भने, ‘यस्तो भएको खण्डमा नेपालले के गर्ने भन्ने बहस आउन जरुरी छ ।’

उनको प्रश्न छ, ‘के हामी एउटा छिमेकीको तर्फबाट अर्को छिमेकीविरुद्ध लडाइँ गर्न सक्छौं ?’

यो प्रश्नसँगसँगै रोकाको मनमा अर्को विचार पनि उठेको छ । नेपालको सरकार चीनको पोल्टामा गएको बुझाइका कारण कतै भारतले यसलाई नै निहुँ बनाएर नेपालको सीमाना थप मिच्ने त होइन ? 

‘ओली सरकार चाीनको पाल्टामा छ भन्ने भारतको बुझाइ छ,’ फरकधारसँग कुराकानी गर्दै रोकाले भने, ‘यसले गर्दा भारतले थप सीमाना मिच्ने सम्भावना मात्र होइन, पाँच वर्षअघिको जस्तो नाकाबन्दी भारतले फेरि लगाउने सम्भावना पनि बढेको छ ।’

यसमा हाम्रो परराष्ट्र नीतिको पनि केही लिमिटेसनलाई कारण मान्छन्, रोका ।

‘हाम्रो परराष्ट्रनीति ‘प्रोएक्टिभ’ छैन । जसले गर्दा, नेपालले भारत र पाकिस्तानलाई मिलाएर सार्क सम्मेलन त गर्न सकिरहेको छैन’, उनले भने, ‘यस्तो अवस्थामा भारत र चीनको यो विवाद नेपालले मिलाउला भनेर कसरी पत्याउन सकिएला र ?’

  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ७:४५:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया