भारत–चीन तनावः नेपालको आधिकारिक धारणा के हो ?

दुई महत्वपूर्ण छिमेकी भारत र चीन अहिले एकअर्कासँगको युद्धको मनस्थितिमा पुगेका छन् । सोमबार राति पूर्वी लद्दाखमा भएको यी दुई देशका सेनाबीचको झडपका कारण दुवै देशमा तनावको स्थिति उत्पन्न भएको छ ।

झडपमा २० भारतीय सेनाले ज्यान गुमाएका छन् । घटनामा चिनियाँ सेना पनि हताहत भएको बताइएको छ तर यसको औपचारिक पुष्टि चीनले अहिलेसम्म गरेको छैन । 

यो ठाउँमा झन्डै दुई महिना यता यी दुई देशबीच झडप हुन सुरु भएको समाचार आइरहेका थिए ।

अब सोमबारको घटनामा भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप गर्न थालेका छन् । दुवै देश यसलाई वार्ताबाट समाधान गर्ने पक्षमा देखिएका छन् तर दुवै देशले एकअर्कालाई आफूहरु युद्धकै लागि पनि तयार भएको सन्देश दिइरहेका छन् । 

भारत र चीनबीच यो ठाउँमा युद्ध हुँदा त्यसको प्रत्यक्ष प्रभाव अब नेपाललाई देखिने पक्कापक्की छ ।

यसको पहिलो प्रभाव भारतले नेपाल बिदामा आएका आफ्ना सेनालाई बोलाउनुलाई पनि लिन सकिन्छ । यसको अर्थ हो, युद्ध भएको खण्डमा भारतले भारतीय सेनामा भर्ती भएका नेपालीलाई पहिलो प्राथमिकतामा युद्धका लागि सीमामा पठाउन सक्नेछ । सन् १९६२ मा पनि यही ठाउँमा यी दुई देशबीच युद्ध भएकाले यसको सम्भावना पनि उत्तिकै रहेको छ ।



तर, दुवै महत्वपूर्ण छिमेकी एकआपसमा लडाइँ लड्दा नेपालको खास भूमिका के हुन्छ त ? सोमबारको घटनाबारे नेपालको आधिकारिक धारणा के हो ? 

‘हामीले यसबारे विज्ञप्ति निकाल्दै छौँ,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले फरकधारलाई भने, ‘त्यसपछि मात्र नेपालको औपाचारिक धारणा आउने छ । यसमा गृहकार्य भइरहेको छ ।’



उनले नेपालले दुवै छिमेकीलाई अहिलेको परिस्थितिमा वार्ताबाट समाधान निकाल्न सुझाव दिने नेपालको तयारी रहेको पनि बताए । ‘अहिले युद्ध कुनै पनि विवादको समाधान होइन,’ उनले भने, ‘नेपालले पनि दुई देशले वार्ताको माध्यमबाट यो समस्या समाधान गर्नेमा विश्वास राखेको छ । त्यही अनुरुप दुवै देशलाई विश्वासको वातावरण बनाएर वार्ता गर्न हाम्रो आग्रह रहनेछ ।’

आवश्यक परेको खण्डमा चाहिँ नेपालले भारत र चीनबीचको यो विवादलाई मध्यस्थता गर्न अगाडि बढ्न सक्ने सम्भावना पनि रहेको परराष्ट्रकै अर्का एक अधिकारीले फरकधारसँग बताएका छन् ।

  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ८:०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया