लकडाउनकैबिच करिब ६ अर्बको औषधि आयात



कोरोना महामारीका कारण गत चैत ११ देखि जारी लकडाउनको अवधिभरमा करीब ६ अर्ब रुपैयाँको औषधि आयात भएको छ । 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार रुपैयाँबराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।   
सो अवधिमा ४ अर्ब ५७ करोड २९ लाख ९३ हजारबराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपैयाँबराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।   

मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा ३ लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।     
बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । पहिलो हप्तादेखि १० औं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । 
यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा २ हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव १ र तयारी औषधिमा ४४ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्यांकानुसार पाँचौं हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात १० औं हप्ताको तुलनामा ११ औं हप्तामा दोब्बर भएको छ । 
लकडाउनको छैटौं हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौं हप्तामा आयातमा वृद्धि भएको थियो ।   
रसुवागढीबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनााएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा ३ हजार ८९० ट्रकहरु प्रवेश गरेको बताइएको छ । 
तीमध्ये धान बोकेका ७० ओटा, मकै बोकेका ३९२ ओटा, चामलका ६६४ओटा, गहुँका १४७ ओटा, मैदाका १५१ ओटा, चिनीका १०१ ओटा, नुनका ३१ ओटा, दालका १०५ ओटा, अण्डाका १३५ ओटा, कुखुराका १६७ ओटा, फलफूलका ४२० ओटा, दूधका २७६ ओटा, औषधिका २०९ ओटा, घ्यूतेलका १९२ ओटा, अक्सिजनका नौ ओटा र तरकारीका ८२१ ओटा ट्रक उपत्यका प्रवेश गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १७:३२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया