३ महिनाका लागि नदीजन्य पदार्थ उत्खनन् बन्द

सिन्धुपाल्चोकमा ३ महिनाका लागि नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द गरिएको छ । जिल्ला समन्वय समिति सिन्धुपालचोकले सूचना जारी गर्दै १असारदेख भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द भएको जानकारी गराएको हो ।

उक्त अवधिभित्र सिन्धुपाल्चोकको कुनै पनि नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

सिन्धुपालचोकमा मुख्य रूपमा इन्द्रावती, सुनकोसी तथा  भोटेकोसी नदीमा नदी उत्खनन हुँदै आएको छ । जिल्लाको स्थानीय तहको मुख्य आम्दानीको स्रोतमध्ये नदीजन्य सामग्रीबाट उठ्ने राजस्व हो । हाल जिल्लामा २४ क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य गर्दै आएको तामाङले जानकारी दिए ।नदीजन्य पदार्थबाट जिल्लामा वार्षिक करिब ५८ करोड रुपैयाँ राजस्व संकलन हुने अध्यक्ष तामाङले बताए । 

 नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको निर्णय र बागमती प्रदेश सरकार मन्त्रिपरिषद्बाट स्वीकृत नदीजन्य पदार्थ उत्खनन तथा संकलनसम्बन्धी कार्यविधि बमोजिम नदीजन्य पदार्थ उत्खनन् तथा संकलन कार्य बन्द गरिएको उनको भनाइ छ ।

कार्यविधिले तोकेको समयसीमा अनुसार प्रत्यक वर्षको असार १ गतेबाट भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन बन्द गर्नुपर्ने व्यवस्था छ । 
जिल्ला अनुगमन तथा समन्वय समितिको पूर्ण बैठकले नदीजन्य पदार्थ, उत्खनन संकलन तथा उपयोग गर्ने सबै स्थानीय तहहरू र सम्पूर्ण उद्यागी व्यवसायीलाई जानकारी गराएको जिसस प्रमुख तामाङले जानकारी दिए ।

ढुंगा, गिटी, रोडा, बालुवासहित नदीजन्य उत्खननमा पूर्णरूपमा रोक लगाइएकाले निर्णयविपरीत उत्खनन गरेमा नियन्त्रणमा लिई कारबाही गर्ने जिल्ला समन्वय समिति सिन्धुपालचोकका प्रमुख तामङको  भनाइ छ । 
 





  • प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार १८:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया