काठमाडौं– नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई विवाहलगत्तै नागरिकता दिन नहुने कुरामा प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत भएका छन् । शुक्रबार बालुवाटारमा भएको दुई नेताबीचको छलफलमा उनीहरु वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्ने वर्तमान कानुनी व्ययवस्था परिवर्तन गर्न सहमत भएका हुन् ।
वर्तमान व्यवस्थामा यसरी नेपाली पुरुषसँग विवाह गरी आउने महिलाले लगत्तै नागरिकता पाउने प्रावधान छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता उक्त व्यवस्था परिवर्तन गरेर सात वर्षपछि मात्रै नागरिकता दिने कुरामा सहमत भएका हुन् ।
अंगीकृत नागरिकताका सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले साबिककै व्यवस्था गर्नुपर्ने अडान राखेको छ । बिहीबार प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि कांग्रेस सभापति शेरबहादुर देउवाले सोही अडान दोहोर्याएका थिए ।
गत मंगलबार बसेको संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति शशि श्रेष्ठले विदेशबाट विवाह गरी आएका बुहारीको हकमा सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्ताव पेस गरेकी थिइन् । गत भदौ २८ गतेपछि पहिलोपटक बसेको सो बैठकमा दलहरुबीच सहमति नजुटेपछि मंगलबारको बैठक स्थगित भएको थियो ।
शुक्रबारको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नागरिकता दिने वर्तमान प्रावधान परिमार्जन गर्ने बेला आएको बताएका थिए । छलफलमा राज्यव्यवस्था समितिका सदस्यहरूले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेका थिए ।
समितिका सदस्यहरूको प्रस्तावमा समर्थन गर्दै प्रधानमन्त्रीले उक्त विधेयक बहुमतबाटै अगाडि बढाउने संकेत गरेको बैठकमा सहभागी एक सांसदले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।