पछिल्लो समय चीनसँग सीमा विवाद बढ्दै गएको भारतले अब आक्रामक कूटनीतिक योजना बनाएको छ । भारतीय मिडिया लाइभहिन्दुस्तानका अनुसार भारतले प्लान बी योजनामा आफ्नो र ताइवानको सम्बन्ध सुधार गर्ने भएको हो । ताइवानसँग सम्बन्ध विस्तार गरेर भारतले चीनमाथि प्रहार गर्न लागेको भारतीय अधिकारीहरुले बताएका छन् ।
अहिले गैर सरकारी स्तरमा चलिरहेको सहयोगमा सरकारले पनि समर्थन दिएको लाइभहिन्दुस्तानको रिपोर्टमा उल्लेख गरिएको छ । योमात्र होइन, ताइवानको समर्थनमा भारतले अन्तर्राष्ट्रिय स्तरमा पनि आवाज उठाउने भनिएको छ ।
सूत्रहरुको हवाला दिँदै लाइभहिन्दुस्तानले तयार पारेको रिपोर्टमा भारतले चीनसँग कूटनीतिक स्तरमा वार्ता पनि गर्ने तयारी गरेको छ । तर, यसले मात्र नभएर चीनलाई चारै तर्फबाट घेर्ने योजनामा भारत लागेको रिपोर्टहरुमा उल्लेख गरिएको छ ।
अब भारतको तिब्बत नीतिमा पनि व्यापक परिवर्तन आउने जनाइएको छ ।
उता, चीनले पनि विभिन्न काममा भारतलाई थप समस्यामा पार्न कदम चालिसकेको भारतीय आशंका छ ।
गत सोमबार मात्र भारत र चीनको सीमा लद्दाखको गलवान घाटीमा भएको दुई देशका सेनाहरुको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।