अभिभावकसँग शुल्क माग्दै निजी विद्यालय


निजी विद्यालय सञ्चालकले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले विज्ञप्ति जारी गरी २०७६ को बाँकी बक्यौता चुक्ता गर्न आग्रह गरेका छन् ।
 त्यस्तै,  विज्ञप्तिमा २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गरी विद्यालयलाई सहयोग गर्न भनिएको छ  ।

कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालयहरु  चैत पहिलो साताबाटै बन्द छन् । सरकारले विद्यालयहरुलाई चैत महिनाको शुल्क नलिन तथा अनलाइन कक्षाका नाममा कुनै शुल्कसमेत लिन नपाइने भनेको छ ।
कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै विद्यालय सञ्चालकले शुल्क तिर्न अभिभावकलाई आग्रह गरेका हुन् ।
लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवन यापन कठिन भएको, विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेकाले शुल्क तिर्न आग्रह गरिएको  प्याब्सनको दाबी छ ।

सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ । 

विद्यालयमा उपस्थित भएर विद्यार्थी भर्ना गर्न समेत उनीहरूले अभिभावकलाई आग्रह गरेका छन् । 
सामाजिक दुरी कायम राखेर नयाँ तथा पुराना विद्यार्थीले अभिलेखीकरण गराउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएर अनलाइन कक्षा सुरु भएको एक हप्तामै विद्यालय सञ्चालकहरूले २०७७ सालको शुल्क तिर्न आग्रह गरेका हुन् । वैशाख, जेठमा  केही निजी विद्यालयले  अनलाइन कक्षा सञ्चलन  गरे पनि औपचारिक रुपमा  पढाउन सुरु भएको १ असारदेखि हो ।





  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार १६:२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया