जितसँगै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लियो

स्पेनिस ला–लिगाअन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ ।

रियलले रियल सोसिडाडलाई २ –१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सोसिडाडको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन कप्तान सर्जियो रामोस तथा करिम बेन्जेमाले १–१ गोलको योगदान दिँदा दिए ।
घरेलु टोलीका लागि मिकेल मेरिनोले १ गोल फर्काएका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तीनै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५० औं मिनेटमा रामोसले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । सोसिडाडका डिफेन्डरले भ्यानिसियस जुनियरलाई डिबक्सभित्र लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।

७० औं मिनेटमा फेडेरिको भालभर्डेको पासलाई सदुपयोग गर्दै बेन्जेमाले रियलको अग्रता दोब्बर पारेका थिए । ८३ औं मिनेटमा रोबर्टो लोपेजको पासलाई सदुपयोग गदै मेरिनोले गोल गरेर घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरेता पनि त्यो प्रयाप्त भने बन्न सकेन ।



जितसँगै रियलले बार्सिलोनासँग अंक बराबरी गरेको छ । समान ३० खेल खेलेका उनीहरुको ६५ अंक छ तर हेड टु हेडको आधारमा रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जारी लिगमा रियलले बार्सिलोनालाई क्याम्प नाउमा गोलरहित बराबरीमा रोक्दा स्यान्टियागो बर्नाबेउमा २–० ले पराजित गरेको थियो ।



यता, रियलसँग पराजित भएसँगै सोसिडाड ३० खेल खेलेर ४७ अंक जोड्दै लिगको छैटौं स्थानमा यथावत छ ।

गएराति नै भएको खेलमा भ्यालेन्सियाले ओसासुनामाथि २–० को जित दर्ता गरेको छ ।

घरेलु मैदान मेस्टाल्लामा भएको खेलमा  भ्यालेन्सियालाई जित दिलाउन गोनकालो गुइडेस तथा रोड्रिगो १ –१ गोलको योगदान दिएका थिए ।

जितसँगै ३० खेलबाट ४६ अंकका साथ भ्यालेन्सिया ८ औं स्थानमा रहँदा  पराजित ओसासुना समान खेलबाट ३५ अंकको साथमा १२ औं स्थानमा छ  
 
 

  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार ७:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया