पौने ३१ अर्बको धितोपत्र विक्रीका लागि अनुमति


 नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनासम्म ३० अर्ब ८९ करोड रुपैयाँ बराबरको धितोपत्र विक्रीका लागि अनुमति दिएको छ । 
गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भएका कामबारे जानकारी दिँदै नेपाल राष्ट्र बैंकले बन्दाबन्दीको अवधिमा समेत सेयर बजारमा आशातीत काम भएको जनाएको छ । 
बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको ऋणपत्र विक्रीका लागि अनुमति दिएको छ । 
बोर्डबाट ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, रू. ३ अर्ब २३ करोड बराबरको साधारण सेयर र रू. १ अर्ब ८० करोड बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी रू. ३० अर्ब ८९ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले बताएको छ । 

गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण रू. १५ खर्ब ३६ अर्ब ४२ करोड कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण रू. १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा रू.३१ अर्ब ५० करोडले कुल बजार पूँजीकरणमा कमी आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २१२ ओटा रहेको छ । सूचीकृत कम्पनीमध्ये १४८  ओटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३  ओटा जलविद्युत् कम्पनी, १९  ओटा उत्पादन र प्रशोधन उद्योग, चार चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् ।
गत असारमा सूचीकृत कम्पनीको संख्या २१५ रहेको थियो । 
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८० दशमलव १ प्रतिशत रहेको छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५ दशमलव ९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३ दशमलव ८ प्रतिशत, होटलको हिस्सा १ दशमलव ३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव ३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८ दशमलव ६ प्रतिशत रहेको छ । 

स्टकमा गत वैशाखसम्म सूचीकृत कुल ४ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य रू.४ खर्ब ६० अर्ब ६१ करोड रहेको छ ।

चालू आवको १० महिनामा रू. २६ अर्ब २५ करोड बराबरका बोनस सेयर, रू. २१ अर्ब ४६ करोड बराबरका ऋणपत्र, रू. १२ अर्ब १६ करोड बराबरका साधारण सेयर, रू.५ अर्ब ७५ करोड बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), रू.४ अर्ब ११ करोड बराबरका हकप्रद सेयर र रू. ११ अर्ब ८३ करोड बराबरका अन्य गरी कुल रू. ८१ अर्ब ५५ करोड बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले बताएको छ ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १३:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया