माथिल्लो तामाकोसीको ठाडो सुरुङको काम हप्ता सकिने


लकडाउनको समयमा पनि केही समयबाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल काम यसै साता सकिने भएको छ ।     
  माथिल्लो तामाकोसीको जटिल मानिएको दुई ठाडो सुरुङको कामसमेत लकडाउनकै बीच सम्पन्न नै हुने चरणमा पुगेको छ । 
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमध्ये २२ दशमलव ५ मिटर मात्रै बाँकी छ ।

गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्ष दिनमा जटिल काम सम्पन्न हुन लागेको हो ।  
कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान सम्पन्न भइसकेको छ । 
पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । 
एउटा पाइप राख्न न्यूनतम पाँच दिन लाग्ने भएकाले आगामी शुक्रवारसम्म ठाडो सुरुङमा पाइप जडानको काम सकिने बताइएको छ ।     
     तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । 
प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमध्ये हालसम्म २८७ दशमलव ५ मिटरमा पाइप जडानको काम भइसकेको छ । 

प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२ दशमलव ५ मिटर मध्ये २० मिटर शुक्रवारसम्म काम सम्पन्न गरिनेछ । 
बाँकी २ दशमलव ५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।     
     माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइप नै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । 
चालू आव सकिने दिनसम्म आयोजनाको काममा उल्लेख्य प्रगति हासिल हुने विश्वास लिइएको छ ।     
आयोजनामा लगानी गर्ने सेयरधनी १० लाख बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करीब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।          
लकडाउनपछि आयोजनाको काम केही समय प्रभावित भयो । एकाध दिन रोकिए पनि आयोजनाले सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम चालू नै राखियो । 
यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करीब रू.५ करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो ।
 भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।     
     यस्तै आयोजनाको सुरुङको तेर्सो स्थानमा जडान हुने केही पाइपको पनि जडानको काम अगाडि बढाउने र घुमेको पाइप जडानको काममा समेत गति दिन लागिएकाले एकाध दिन भित्रै सम्पन्न हुनेछ । 
सुरुङमा क्रंक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । 
बाँधस्थलको गत वैशाखमा नै परिक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।     
 विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तयारी हालतमा राखिएको छ । 
पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ ।
 एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कुल छ ओटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।     
     सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । 
पछिल्लोपटक यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले माथिल्लो तामाकोशी लगायत आयोजनालाई लकडाउनको समयमा काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेका कारण सहज भएको प्रवक्ता न्यौपानेको भनाइ छ ।     
 आयोजनास्थलमा एक एम्बुलेन्स अनिवार्यरूपमा राख्नैपर्ने, निर्माणस्थलमा खटिएका कामदारलाई आईसोलेशनमा बसेजस्तै गरी स्थानीयवासी सँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । 
आयोजनास्थलमा एक मेडिकल टिम अनिवार्य रूपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने वित्तिकै उपचारको प्रबन्ध गर्ने व्यवस्था गरिएको छ ।     
     कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ५ प्रतिशतको हाराहारीमा पुगेको छ । 
आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सबस्टेसनको काम सम्पन्न हुने चरणमा पुगेको छ ।
कुल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले बताएको छ ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १४:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया