विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस अधानोम गेबे्रयोसुसले महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएका छन् ।
“विश्व नेताहरूले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नुपर्छ,” डब्लुएचओ प्रमुख गेबे्रयोसुसले भने ।
उनले अझै पनि कोरोनाभाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नभएको पनि उल्लेख गरे ।
सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरूमा नदेखिएको चिन्ता पनि उहाँले व्यक्त गरे ।
राजनीतिकरण नगर्न आह्वान गरिएकोसम्बन्धी उनको भनाइ विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ ।
उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी पनि गरे ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरि कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् ।
डब्लुएचओ प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरूको अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।
ती देशहरूमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरू धेरै रहेको र अस्पतालहरूमा बिरामीहरूको भीड भइरहेको उनले उल्लेख गरेका छन् ।
विश्वभरि पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरि १० लाख मानिस सङ्क्रमित भएको र त्यति नै सङ्ख्यामा सङ्क्रमितहरू पछिल्ला आठ दिनमा वृद्धि भएको पनि डब्लुएचओले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।