इंग्लिस प्रिमियर लिग फुटबल उपाधि होडलाई अझ मजबुद बनाउने क्रममा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–० सहजको जित दर्ता गरेको छ ।
गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन अलेक्जेन्डर आर्नोल्ड, मोहम्मद सलाह, फाबिन्हो र साडियो मानेले १ –१ गोलको योगदान दिए ।
खेलको २३ औं मिनेटमा आर्नोल्डले फ्रिकिक मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा फाबिन्होको पासलाई सदुपयोग गर्दै सलाहले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
५५ औं मिनेटमा फाबिन्होले एन्ड्री रोबर्टसनको पासलाई गोलमा परिणत गरेपछि ३–० ले अघि बढेकोे लिभरपुललाई ६९ औं मिनेटमा सलाहको पासलाई सदुपयोग गर्दै मानेले ४–० को सहज जित दिलाए ।
जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग २३ अंकको दुरी बनाएको छ ।
लिभरपुलले ३१ खेलबाट ८६ अंक जोड्दा एक खेल कम खेलेको सिटीको ६३ अंक छ ।
पराजित किस्टल प्यालेस समान खेलबाट ४२ अंकको साथमा ९ औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा एभर्टनले नर्विच सिटी तथा वुल्भ्सले बेर्नमाउथमाथि समान १–० को जित हात पारे ।
त्यस्तै म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडमाथि ३–० को जित निकाल्दा न्युक्यास्टल युनाइटेड तथा एस्टोन भिल्लाले १–१ को बराबरी खेले ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।