केरुङ नाकाबाट भित्रिन थाले कन्टेनर
सुरक्षामा उच्च सतर्कता अपनाइको रसुवा भन्सारको भनाइ


केरुङ नाकामा ६ महिनादेखि अलपत्र सामान अब नेपाल भित्रिने भएको छ ।
बुधबारदेखि केरुङ नाकाबाट दैनिक १५ वटासम्म कन्टेनर आउने व्यवस्था मिलाइएको बताइएको छ । 
लामो समय नाका ठप्प रहेको हुँदा व्यवसायीले सामान ल्याउनको लागि माग गरिरहेका थिए ।
नेपालीले आयात गरेका मालसान सीमापारि केरुङमा करिब ३ सय कन्टेनर छन् ।
 ती कन्टेनर नेपाल भित्रिन करिब सय दिन लाग्ने अनुमान छ । दैनिक सीमित संख्यामा भित्र्याउँदा नाकामा रहेको पुरानो सामान ३ महिनामा पनि सबै आइपुग्दैन ।
तत्कालका लागि पुलपारि सवारी चालक,  सहचालक र ढुवानी कामदारको परिचयपत्र, स्वास्थ्य जाँचका कागजात पहिले नै पठाएरमात्र सामान लिन जान सक्ने निर्णय भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । 
व्यवसायीले यतिबेला गर्ने नयाँ अर्डरका सामान जाडो समय सुरु हुँदा मात्र आइपुग्न सक्ने भन्सारले जनाएको छ ।
केरुङबाट सामान आगामी सोमबारदेखि मात्रै नेपालतर्फ भित्रिने भन्सार कार्यालयले जनाएको छ। सामान बोकेका कन्टेनरलाई भन्सारले क्वारेन्टिनमा केही दिन राखेर डिसइन्फेक्सन स्प्रे गरेर काठमाडौं पठाउने तयारी गरेको छ ।  

केरुङबाट कन्टेनर भित्रिन थालेपछि नाका निरन्तर संचालनमा रहने बताइएको छ । 
केरुङ नाकाबाट चिनियाँ भन्सार कार्यालयका अधिकारीहरूले हालका लागि सुरुमा एक दिनमा चार कन्टेनर र पछि १५ कन्टेनर नेपाल पठाउने व्यवस्था गरेका छन् । 
रसुवा भंसार कार्यालयका अनुसार चिनियाँ ४ कन्टेनर सामान नेपालको १२ कन्टेनर हुन्छ ।
व्यवसायीहरूका अनुसार लामो समय सामान नाकामा रोकिँदा चिनियाँ व्यवसायीहरुले प्रत्यक्ष भेटघाट गर्न खोजेका छैनन् । 
उनीहरुले केरुङमा थुप्रिएका सामान लगेपछि मात्रै नयाँ अर्डरका सामान पठाउन सकिने जानकारी दिएको नेपाली व्यवसायीले बताएका छन् ।
 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १६:१३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया