काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको आजको बैठक सकिएको छ । बैठकअघि प्रधानमन्त्री ओलीले आफू बैठकमा उपस्थित हुन नसक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बैठक अघि बढाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले महासचिव विष्णु पौडेलमार्फत आफू आउन नसक्ने भनेर सन्देश पठाएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको थियो । बैठकमा भारतसँगको सीमा विवादबारे १८ जना स्थायी समिति सदस्यले आफ्नो धारणा राखेका थिए ।
बैठकमा परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले भारतसँग लिम्पियाधुराको सीमा विवाद सुल्झाउन कूटनीतिक पहल जारी रहेको, तरभारतले चासो नदिएको बताए । भारतले यसअघि सार्वजनिक भएको धारणा नै आधिकारिक भएको बताउँदै आएको छ । बैठकमा परराष्ट्रमन्त्री ज्ञावालीले चीनले नेपाली सीमा अतिक्रमण भएको भनेर आएका समाचार झुटा रहेको पनि बताए ।
आफ्नो धारण राख्ने सबैजसोले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको बताएक थिए । केही सदस्यले सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएका थिए ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब अर्को बैठक भोलि बिहान ११ बजे बस्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।