काठमाडौं– मेगा बैंकले गण्डकी विकास बैंकलाई खरिद गर्न स्वीकृति पाएको छ । मेगा बैंकले नेपाल राष्ट्र बैंकबाट बुधबार अन्तिम स्वीकृति पाएको हो ।
राष्ट्रिय स्तरको गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय पोखरामा छ । मेगा बैंकले गण्डकी विकास बैंक खरिद गर्नेसम्बन्ध सम्झौतापत्रमा गत असोजमा सैद्धान्तिक सहमति गरेको थियो ।
मेगाले एक बराबर एक शेयर स्वाप अनुपातमा गण्डकी बैंकलाई खरिद गनए लागेको हो । दुई बैंक बीचको सम्झौताअनुसार मर्जर पछि बन्ने बैंकको नाम मेगा बैंक लिमिटेड रहनेछ । बैंक सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि मेगा बैंकको नै रहने जनाइएको छ ।
हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड छ भने गण्डकी विकास बैंकको २ अर्ब ७५ करोड रहेको छ । मर्जरपछि मेगा बैंकको चुक्ता पूँजी १३ अर्ब १३ करोड नाघ्नेछ ।
चालू आवको तेस्रो त्रैमाससम्म मेगाले १ अर्ब ४५ करोड १० लाख ९० हजार र गण्डकीले ३६ करोड ९५ लाख ३६ हजार खुद नाफा गरेका छन् । यस अवधिसम्म मेगाको वितरणयोग्य नाफा ४५ करोड ९८ लाख ४७ हजार र गण्डकीको ३ करोड २८ लाख ३२ हजार रहेको छ ।
दुई बैंकको गत जेठ २१ गते सम्पन्न छुट्टाछुट्टै विशेष साधारणसभाले एक–आपसमा मर्जर तथा प्राप्तिको विशेष प्रस्ताव पारित गरेको थियो । मेगाको प्रतिशेयर आम्दानी १८.८३ र गण्डकीको १७.९२ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ क्रमशः १३२.१९ र १४२.०७ रुपैयाँ रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।