बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो, रियल म्याड्रिडलाई फाइदा

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोना र सेल्टा भिगोले २–२ गोलको बराबरी खेलेका छन् ।

सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले दुई पटकको अग्रता जोगाउन नसक्दा अंक बाडेको हो ।

 बार्सिलोनाका लागि दुवै गोल लुइस स्वारेजले गरेका थिए भने घरेलु टोलीका लागि फ्योेडोर स्मोलोभ र लागो आसपासले १–१ गोलको योगदान दिए ।

खेलको २० औं मिनेटमा कप्तान लियोनल मेसीको पासलाई सदुपयोग गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा ओकए योकुस्लुको पासलाई सदुपयोग गर्दै स्मोलोभले घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

६७ औं मिनेटमा स्वारेजले नै ब्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए । यसपटक पनि उनलाई मेसीले नै गोलको अवसर दिलाएका थिए ।



खेलको अन्तिम समयमा पाएको फ्रि–किकलाई आसपासले गोलमा परिणत गरेपछि दुवै टोलीले अंक बाडेका हुन् ।

बार्सिलोनाको यो बराबरीले दोस्रो स्थानको रियल म्याड्रिडलाई फाइदा पुगेको छ । एक खेल कम खेलेको रियल बार्सिलोनाभन्दा मात्र १ अंकले पछाडि छ ।



आजराति हुने खेलमा रियलले स्पानियोललाई पराजित गर्न सकेको खण्डमा बार्सिलोनासँग २ अंकको  दुरी कायम गर्दै शीर्ष स्थानमा उक्लने छ ।

बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोड्दा रियलको ३१ खेलबाट ६८ अंक छ ।

बराबरी खेलेको सेल्टा भिगो पनि समान खेलबाट ३४ अंकका साथ १६ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिक क्लब बिल्बाओले मालोर्कामाथि ३ –१ को जित हात पारेको छ । 
 

  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार ७:१९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया