आफैंले चलाएको कार दुर्घटना हुँदा पत्रकार पाण्डेको निधन

सवारी दुर्घटनामा परी रुपन्देहीमा गएराति पत्रकार तथा कलाकार कृष्णबाबु पाण्डेको निधन भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन भएको ५ नं प्रदेश प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करिब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका न्युज २४ टिभीमा कार्यरत पत्रकार पाण्डेको गए राति करिब १२ः४५ बजे बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पाण्डेको टाउकोलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र कार पूर्णरुपले क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

पत्रकार पाण्डेको शव परीक्षणका लागि अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रनाउ पाण्डेले जानकारी दिए ।

पछिल्लो समय पत्रकारितामा नै व्यस्त पाण्डेले पावरन्युजनेपाल अनलाइन सञ्चालन गर्दै आएका थिए । स्थायी घर स्याङ्जाको बिर्घा रहेका पत्रकार पाण्डेको केही वर्षअघि ‘भंगेरी चरीले मैदानमा लरी लरर’ नामको तीजगीत चर्चित भएको थियो ।



पाण्डेको निधनमा तिलोत्तमा मिडिया क्लबले दुःख व्यक्त गरेको छ ।

अध्यक्ष लक्ष्मण पौडेलले आज शोक विज्ञप्ति जारी गरी क्लबका सदस्य पाण्डेको सवारी दुर्घटनामा घाइते भई उपचारका क्रममा भएको असामयिक निधनले क्लबलाई मर्माहत तुल्याएको जनाएका छन् ।
 



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १०:२८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया