काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने चलखेल सुरु भएको बताएका छन् । स्वर्गीय मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
नेपालको नक्सा जारी भएपछि आफूलाई हटाउने खेल सुरु भएको भन्दै उनले पहिले पनि चीनसँग पारवहन सम्झौता गरेपछि आफ्नो सरकारलाई हटाइएको दाबी गरे । संविधान संशोधन गरेपछि पुनः सरकार परिवर्तनको खेल सुरु भएको र नयाँ नक्सा जारी गरेबापत प्रधानमन्त्रीबाट हटाउँछु भन्ने सपना कसैले नदेख्न उनले चेतावनी दिए ।
विभिन्न होटलमा भएका गतिविधि र दूतावासको सक्रियताले आफूलाई हटाउने चलखेल गरेको दाबी गर्दै उनले आफूलाई हटाउने चलखेल सुरु भएको बुझ्न भारतीय सञ्चार माध्यमलाई लिन सकिने बताए ।
सरकार परिवर्तनको प्रयास जति गरे पनि तत्कालै परिवर्तन गर्न नसक्ने दाबी गर्दै प्रधानमन्त्री ओलीले भने– यदि कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सपना देख्या छ भने त्यो पूरा हुँदैन । आजको राष्ट्रियता त्यति कमजोर छैन ।’
आफूलाई प्रधानमन्त्रीमा बस्न मन नभएको तर, देशको पक्षमा बोल्ने हिम्मत भएको व्यक्ति कोही नभएकाले बस्नुपरेको बताउँदै उनले प्रधानमन्त्री बन्न पनि हतार नगर्न पनि आग्रह गरे ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मदनपत्नी अर्थात् वर्तमान राष्ट्रपतिको बचाउ गर्न पनि भ्याए । राष्ट्रपति भण्डारीले १६ करोडको गाडी चढेकोमा आलोचना भएकोतर्फ संकेत गर्दै ओलीले यनलाई साइकल चलाउन पनि नआउने बताए ।
आफू देशको सेवा गर्न जन्मिएको दाबी गर्दै उनले भने, म शासक हुन नभएर देशको सेवाका लागि जन्मिएको हुँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।