स्याङ्जामा सलह किरा मार्नेले प्रतिकिलो एक सय पाउँने

भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन्

गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए । अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए ।

“सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”, उनले भने ।

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए ।

त्यस्तै हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन् ।

सलह किरा जिल्लामा प्रवेश गरेपछि गल्याङ नगरपालिकाका किसानलाई सचेत गराइएको नगरपालिकाका पशु सेवा शाखाका अधिकृत सुशील अर्यालले बताए ।



किसानलाई धानको ब्याड र नर्सरी गरेर राखिएका बिरुवामा झुल टाँगेर राख्न भनेको अर्यालले बताए । खेतबारीमा सलह किरा देखिएपछि स्थानीयवासी यतिबेला आगो बाल्नुका साथै ठूलो आवाज निकालेर भाँडाकुँडा ठटाएर सलह किरा धपाउन जुटेका छन् ।  
 



  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १३:४९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया