सलहले नेपालको पश्चिमी भेगमा असर पुर्‍याउने विज्ञको दाबी


सलहको झुन्ड हावाको गतिसँगै पश्चिमी जिल्लामा फैलन सक्ने विज्ञले आँकलन गरेका छन् ।
मौसमको अवस्था हेर्दा पूर्वोत्तर हुँदै हावाको बहाव पश्चिमतर्फ जाने देखिएकाले सलह पूर्वी जिल्लामा भन्दा पश्चिमका जिल्लाहरूमा फैलने सम्भावना धेरै देखिएको बताइएको छ ।
सलह हावाको गतिसँगै उड्ने भएकाले पश्चिमका जिल्लामा यसको प्रभाव वढ्ने सम्भावना देखिएको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रको दाबी छ ।

शनिवार मध्य तराईबाट नेपाल प्रवेश गरेको सलह बारा, पर्सा, रूपन्देही, जनकपुर, काभ्रे, काठमाडौं, ललितपुर, लमजुङ, चितवन, कास्की, प्युठान, पाल्पा, मकवानपुर र दाङलगायत करीब १६ जिल्लामा प्रवेश गरिसकेको छ । 

कुन जिल्लामा कति संख्यामा सलह पुगेको छ भनेर ट्रेसिङ गर्ने प्रविधि नेपालसँग नभएका कारण नयाँ ठाउँमा देखिएका झुन्ड शनिवार बारामा देखिएका झुण्डबाट छुट्टिएर गएको हो कि भारतबाट नयाँ झुन्ड आएको हो पत्ता लगाउन सकिएको छैन ।

नेपालको मौसमले यसलाई साथ नदिएकाले ठूलो मात्रामा क्षति पु¥याउने गरी बालीनाली नखाएको विज्ञहरूले जानकारी दिएका छन् ।

नेपालमा भित्रिएको सलह वयस्क नभएकाले यसले क्षति पु¥याउने सम्भावना न्यून रहेको कीट विज्ञ तथा नेपाल कृषि अनुसन्धान केन्द्रको दाबी छ । 
अपरिपक्व सलह गुलावी वा खैरो रंगको हुन्छ भने वयस्क सलह पहेंलो रङको हुने उनीहरुको भनाइ छ ।

नेपालमा आइपुगेको सलह पहेँलो नभएकाले अपरिपक्व भनेर सजिलै पत्ता लगाउन सकिने केन्द्रले जनाएको छ ।



कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय र प्रदेश स्तरका कृषि केन्द्रहरूसँग समन्वय गरी प्राविधिकहरू परिचालन गरिएको जानकारी दिएको छ । 
मन्त्रालयले विषादी व्यवस्थापन, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी सलहका बारेमा सूचना दिने र नियन्त्रणका उपाय थाहा पाउन सूचना केन्द्र पनि सञ्चालन गर्दै छ ।



  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १४:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया