पत्रकारको सुरक्षा र अधिकार स्थापित गर्न माग गर्दै महासंघले बृहत् प्रदर्शन गर्ने

काठमाडौं– नेपाल पत्रकार महासंघले आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न माग गर्दै बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ । 

महासंघले श्रमजीवी पत्रकारले समस्या भोग्नुपरेका सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो ब्यानर राख्नेलगायतका विरोध कार्यक्रमका कार्यतालिका प्रकाशन गरेको छ । 

सोमबार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विशेषगरी लकडाउनको अवधिमा श्रमजीवि पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन गराउनेलगायत जटिल समस्या देखिएको ठहर गर्दै आन्दोलनमा उत्रने निर्णय गरेको हो । 

महासंघले यसअघि नै आन्दोलनका लागि सञ्चारगृहमा समयसीमासहित अल्टिमेटम बुझाएको थियो । सोहीबमोजिम आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेसागत सुरक्षा र अधिकार स्थापित गर्न बृहत् प्रर्दशन गर्ने निर्णय भएको हो । 

श्रमजीवि पत्रकारको पेसागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेसागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)लगायत राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यबद्धताका लागि आग्रह गर्ने निर्णयसमेत भएको महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १८:५०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया