नेकपाको बैठकमा आज पनि कुर्सीसम्बन्धी विवाद दोहोरिएको छ । विवाद भएपछि सचिवालयका सदस्यहरुलाई मञ्चबाट तल झारियो ।
बैठक उद्घाटनको दिन गत बुधबार दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई अग्लो मञ्चमा बनाएर सुविधाजनक सोफाको व्यवस्था गरिएको थियो । तर, अरु नेतालाई काठका कुर्सीमा राख्न खोजिएको थियो । बरिष्ट नेता माधव नेपाल र झलनाथ खनाललाई अध्यक्षको आसनभन्दा केही पछाडि राखिएको थियो ।
सचिवालयका ९ जना नेता मञ्चमा थिए भने स्थायी कमिटीका सदस्यहरु होचो ठाउँमा थिए ।
पहिलो दिन बरिष्ठ नेता नेपालले आफ्नो आसन केही अगाडि सार्न लगाएर विरोध जनाएका थिए ।
यद्यपि शुक्रबार प्रधानमन्त्री ओली बैठकमै नआएका दिन भने अध्यक्षहरु बस्ने विशेष सोफा हटाइएर अरुकै जस्तो काठका कुर्सी राखियो ।
नेकपा उच्च स्रोतका अनुसार त्यो दिन प्रधानमन्त्री ओली बैठकमा आउने भन्ने यकिन भएरै समानता देखाउन काठका कुर्सी राखिएको थियो । तर, पछि ओली नआउने कुरा तय भएको हो । काठको कुर्सी राखेकाले ओली नआएको अर्थ नलगाउन स्रोतको आग्रह छ ।
शनिबार तेस्रो दिनको बैठकमा प्रधानमन्त्री सोफामा नभएर काठकै कुर्सीमा केहीबेर बसेका थिए ।
आजको चौथो बैठकमा चाहिँ नेकपाले आफ्नो आसनमा परिवर्तन गरेको छ । बैठकमा प्रधानमन्त्रीलगायत सचिवालयका सबै नेतालाई मञ्चबाट तल झारिएको छ ।
मञ्चबाट तल झारेर ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई समान लहरमा राखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।