लामो समयसम्म बन्द रहेको नेपाली सेयर बजार खुले लगत्तै बढेको छ । लामो समयको लकडाउनसँगै ९८ दिनपछि खुलेको पहिलो दिन सोमबार दोहोरो अंकले घटेको बजार मंगलबार बढेकोे छ ।
मंगलबार शुरुदेखि नै खरिदकर्ताको चाप देखिएसँगै दुई पटक सर्किट लागेर २ घण्टाको कारोबारमै ६.१० प्रतिशतले बढेर बजार बन्द भयो । सोमबार १२.८७ अंकले घटेको बजार आज ७२.०५ अंकले बढेको छ ।
अबको बजारको प्रकृति हेर्दा अझै बढ्न सक्ने सेयर जानकार दिलीप मुनकर्मीले बताए । बजार बढ्नुको कारण साउनबाट नागरिक लगानी कोषले शुरु गर्न लागेको स्टक डिलर तथा मार्जिन लोनको सीमा बढ्नु रहेको उनले बताए छ ।
आजको कारोबारले महामारीको समयमा बजार घट्छ भनेर लामो समय बन्द गर्नेलाई उत्तर मिलेको नेपाल पुँजी बजार संघकी अध्यक्ष संरक्षणा चौधरीले बताइन् ।
मंगलबारको बजार हेर्दा लकडाउनमा बजार बन्द गरेर लगानीकर्ताको करोडौंको सम्पत्ति बन्धक बनाउनु गलत निर्णय भएको उनको भनाइ छ ।
लामो समय अन्य वित्तीय कारोबार हुने स्थल खुल्दासमेत सेयर बजार खुलेन । विश्वभरका सेयर बजारमा निरन्तर कारोबार भए पनि नेपालको सेयर बजार भने बन्द रह्यो । यसमा नियमनकारी निकायको कमजोरी रहेको भन्दै चौतर्फी आलोचनासमेत भएको लगानीकर्ता सिर्जना सुवेदीको भनाइ छ ।
लक डाउनकैबीच वैशाख ३० र ३१ गते खुलेको बजारमा गिरावट आउने भन्दै सेयर लगानीकर्ताका संगठनहरुले नेप्सेमै पुगेर बजार बन्द गराउन दबाब दिएका थिए । लगानीकर्ताकै दबाबमा बजार बन्द भएकाले बोर्डले पनि बजार खोल्नका लागि आवश्यक कारबाही अघि बढाएको थिएन ।
हालै बोर्ड र लगानीकर्ताका सबै संगठनबीच आगामी दिनमा कुनै पनि बाहनामा बजार बन्द गराउन कुनै आन्दोलन नगर्ने सहमति भएपछि बजार खुलेको हो । लगानीकर्ताका संगठनसँग सहमति गर्नुअघि बोर्डका अध्यक्षले अर्थमन्त्रीसँग बजार सञ्चालनबारे छलफलसमेत गरेका थिए ।
मंगलबारको कारोबारमा नागरिक लगानी कोष, एसिएन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टको कारोबारमा सर्किट लागेको छ ।
यसका साथै मंगलबार साल्ट टे«डिङ कर्पोरेशन, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, साना किसान विकास बैंकको सेयर मूल्यसमेत बढेको छ ।
मंगलबार गुमाउनेमा नेपाल पुनर्बीमा कम्पनी, ओरियन्टल होटल, सानिमा इक्विटी, बेस्ट फाइनान्स, एनआईबिएल सम्बृद्धि फण्ड–१ का लगानीकर्ता रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।