पार्टीको निर्णय मान्न मन्त्रीहरुकोे सुझाव, थप दवावमा प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली यति वेला संकटमा छन् । उनलाई पार्टीभित्रैबाट संकट आएको हो । जारी पार्टीको स्थायी कमिटीको पाँचौं बैठकमा मंगलबार बोल्ने अधिकांश सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन भनेका थिए ।

स्थायी कमिटीका सदस्यले मात्र होइन ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसमेत अब दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न भनेका थिए ।

भारतले आफूलाई हटाउने षड्यन्त्र गरिरहेको ओलीको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘भारतले नभई मैले नै तपाईँसँग  राजीनामा मागेको हुँ ।’

प्रचण्डपछि बोलेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले पनि ओलीबाट सरकार र पार्टी दुवै नचल्ने भन्दै तत्काल राजीनामा माग गरेका थिए ।

उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलेसमेत ओलीको राजीनामा माग गरेका थिए ।

मंगलबार बालेका १८ सदस्यमध्ये १७ जनाले ओलीको राजीनामा मागेपछि ओली थप दबाबमा परेका छन् ।



आज विहानै प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्रीहरु र स्थायी कमिटी सदस्यहरुललाई बालुवाटार बोलाएर परामर्शसमेत गरे । बालुवाटारमा ओलीले पूर्वमाओवादी केन्द्रका मन्त्रीहरु शक्ति बस्नेत, वर्षमान पुन, गिरिराजमणि पोखरेल र बिना मगरलाई भने बोलाएनन् । तर, गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्ट भने पुगेका थिए ।

वरिष्ठ नेता नेपाल र खनाल खेमाका मन्त्रीद्धय घनश्याम भुषाल र योगेश भट्टराईपनि प्रधानमन्त्री ओलीले बोलाएको परामर्शमा सहभागी थिए ।



बैठकमा सहभागी मन्त्रीहरुले पार्टीको निर्देशन र निर्णयलाई सर्वोपरि मानेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाएका छन् । उता, ओलीनिकट स्थायी कमिटी सदस्यहरुले भने कुनैपनि हालतमा खुट्टा नकमाउने भरोसा दिएका छन् । उनीहरुले स्थायी कमिटी बैठकले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई हटाउन नमिल्ने अडान राखेका छन् ।

  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १३:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया