सेयर बजारमा बुधबार जम्मा डेढ घण्टामात्र कारोबार भएको छ । कारोबार खुलेको डेढ घण्टा नपुग्दै सेयर बजार ६ प्रतिशतले बढेर बन्द भएको हो । खुलेदेखि नै निरन्तर उकालो लागेको बजारमा आज खरिद कर्ताको चाप देखियो ।
बजार ६ प्रतिशतले बढेमा वा घटेमा सो दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ । यसअघि मंगलबार पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो ।
लामो समय बन्द भएर खुलेको बजार बढ्नुको पछाडि राजनीतिक घटनाक्रमको पनि हात रहेको बताउँछन् सेयर बजारलाई नजिकबाट नियालिरहेका दिलीप मुनमकर्मी । नेकपाभित्रको विवाद सतहमा देखिएको र यसले सरकार वा मन्त्रीपरिषद् परिवर्तन हुन्छ भन्ने हल्लाले पनि बजार बढाउन सहयोग पुगेको उनको विचार छ ।कोरोना त्रासका कारण लगानीको अन्य क्षेत्र ठप्प हुनु तथा असार मसान्त नजिकिनुले बजार बढाएको उनको विश्लेषण छ ।
छोटो समयमात्र कारोबार भएकाले बजार कता जान्छ भन्ने कुनै आँकलन गर्न नसकिने धितोपत्र बजारका अध्येता अधिवक्ता ज्योति दाहाल बताउँछन् । बजार बढ्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।
बुधबार छोटो समयको कारोबारमै ७५ दशमलव ७७ अंकले बढेपछि नेप्से १३ सय ३६ अंकमा पुगेको छ । ४० करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार होटलबाहेक सबै उपसमूह बढेका छन् । बुधबार सबैभन्दा बढी जीवन बीमा समूह ५४८ अंकले बढ्दा निर्जीवन बीमा समूह ३२२ अंकले बढेको छ । बजारमा विभिन्न नयाँ जीवन तथा निर्जीवन बिमा कम्पनीको सेयर आउने क्रममा रहेकाले पनि बिमाको सेयरमा खरिदकर्ताको चाप देखिएको विश्लेषकको भनाइ छ ।
बैंकिङ समूह ८२ अंकले बढेको भने उत्पादन समूह १०२ अंकले बढेको भने माइक्रोफाइनान्स १०१ अंकले तथा अन्य समूह २० अंकले बढेको छ । आजको बजारमा होटल समूह भने ५ अंकले घटेको छ ।
यस दिन सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुराँस लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाए ।गुमाउनेमा नेशनल माइक्रोफाइनान्स र ओरेन्टल होटलका लगानीकर्ता रहेका छन् ।
बुधबार सबै भन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार ११ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कुल ४० करोड ७३ लाखको कारोबार भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।