यसै शैक्षिक सत्रमा नयाँ पाठ्यक्रम लागू गर्न सकिँदैन : हिसान


 २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयको निजी विद्यालय सञ्चालकले विरोध गरेका छन् । कक्षा सञ्चालनकै टुङ्गो नभएको तथा हालको अवस्थामा विद्यार्थीको पाठ्यभार घटाउने अन्तर्राष्ट्रिय अभ्यासविपरीत विद्यार्थीलाई थप बोझ बनाउन नहुने अडान उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)को छ ।

अहिलको अवस्थामा शैक्षिक सत्र नै छ÷सात महिनामा सक्नुपर्ने हुन सक्ने भन्दै हिसानका सचिव रामहरि सिलवालले अध्ययन अध्यापनका लागि विद्यार्थी र शिक्षकसमेत तयार हुन कठिन हुने अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्न नसकिने निर्णयमा आफूहरू पुगेको बताए । विषय थप भएसँगै विद्यालयहरूले भौतिक संरचना, शिक्षकको तयारीलगायत धेरै कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

सरकारले भने २०७७ सालदेखि नै कक्षा ११ बाट नयाँ पाठ्यक्रम लागू गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक तयारी गरेको जनाएको छ । सरकारी तयारी अनुसार अब कक्षा ११ मा अनिवार्य तीनवटा विषय अध्ययन गर्नुपर्नेछ । नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य बनाइने भएको हो । यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । 

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेको तथा कक्षा ११ र १२ को परीक्षाका बारेमा समेत अन्योल रहेका बेला सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न हुँदैन भन्ने आफूहरूको भनाइ रहेको सिलवालले बताए ।

कक्षा ११ मा झन्डै ७० प्रतिशत विद्यार्थी निजी माध्यमिक विद्यालयमा अध्ययन गर्ने भएकाले यसमा आफूहरूसित पनि समन्वयमा काम गर्न हिसानले माग गरेको छ ।
 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १४:५४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया