विकास निर्माणको कामलाई असार नकुरौँ : सांसद

राष्ट्रिय सभाका सांसदहरुले असारे विकास सधैंका लागि अन्त्य गर्ने गरी नीति बनाउनु पर्ने बताएका छन् । बिहीबारको बैठकको शून्य समयमा बोल्ने अधिकाश सांसदहरुले विकास निर्माणको कामलाई  समयमा गर्ने नीति बनाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शान्ति कुमारी अधिकारीले वर्षायाममा गरिएको काम विकास नभई विनाश हुने बताउँदै असारे विकासलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताइन् । जेठ १५ मै बजेट आउने भएकाले वर्षअघि नै विकास निर्माणका काम गर्न सकिने उनको भनाइ थियो ।     
     
 आर्थिक वर्षको अन्तिम महीना असारमा हतारमा काम गर्दा विकास कागजमा मात्र सम्पन्न गरी मिलेमतोमा बजेट सक्ने र वर्षायाममा गरिएको कामले गर्दा बाढीपहिरो आउने, धनजनको क्षति हुने र बस्ती उजाड हुने उनको भनाइ छ । ‘असारे विकासलाई सधैंका निम्ति अन्त्य गरिनुपर्छ,’ उनले भनिन्, ‘समयमै काम सक्ने नीति बनाउनु आवश्यक छ ।’    

नेकपाकै शेरबहादुर कुवँरले क्वारेन्टाइनको अस्तव्यस्तताका कारण कोभिड–१९ को महामारी झनै बढ्दै गएको बताउँदै अब कोरोना समुदायस्तरमा पुगेकाले समयमै सचेत हुन  जरुरी रहेको बताए ।  नेकपाकै शारदादेवी भट्टले हत्या, हिंसा र भ्रष्टाचारलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।     

सांसद रामनारायण बिंडारीले लकडाउनले  प्रभावित व्यवसायीको राहतका लागि यातायात क्षेत्रमा १० प्रतिशत पुनर्कर्जा र ढुवानीमा भ्याट छूट गरेर टीडीएस मात्रै लागू गर्ने व्यवस्था गर्ने गरी नीति बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

‘यातायात क्षेत्रमा नेपालीको खर्बौं लगानी छ, यसलाई हेर्ने छुट्टै मन्त्रालय छैन, त्यसैले यो क्षेत्र अस्तव्यस्त छ,’ उनले भने,  ‘बस, ट्रक, टिपर, मालवाहक यातायातको बेग्लाबेग्लै नीति चाहिन्छ, निजीले पनि सार्वजनिक भाडाका काम गरिरहेका छन्, कोभिड–१९ ले यी व्यवसायी थला परेका छन्, १० प्रतिशत पुनर्कर्जा र ढुवानीमा भ्याट छुट होस ।’   
     
 सांसद डा विमला पौडेलले कोभिड–१९ को महामारीका अवस्थामा ज्यानको बाजी राखेर काम गरिरहेका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको बताउँदै उनीहरुको सुरक्षाको माग गरिन् ।
 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १६:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया