कार्यविधि बनाएर सञ्चालन गर्न दिने आश्वासनपछि रोकियो ट्याक्सी व्यवसायीको आन्दोलन

केही दिनदेखि सडकमै ट्याक्सी राखेर आन्दोलन गरिरहेका व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । अखिल नेपाल यातायात मजदुर संघले बिहीबार विज्ञप्ति जारी गर्दै हाललाई  आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

 केही समयभित्रै ट्याक्सी संचालन कार्यविधि बनाएर संचालन गर्न दिने प्रतिबद्धता सम्बन्धित निकायबाट आएकाले आन्दोलन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । व्यवसायी तथा मजदुरको आन्दोलनले राज्यका विभिन्न निकायको ध्यानाकर्षण भएको र यसले छलफल र बहसको वातावरण बनेको विज्ञप्तीमा छ  ।

ट्याक्सी व्यवसायी तथा मजदुरहरुको तत्कालीन तथा दीर्घकालीन मागहरु सम्वोधन गर्नका लागि प्रकृयासमेत अघि बढेको छ । नेपाल सरकार संघीय संसद विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई मजदुर तथा व्यवसायीको माग सम्वोधन गर्न निर्देशनसमेत दिइसकेको  छ । 

’अखिल नेपाल यातायात मजदुर संघ ,नेपाल यातायात मजदुर संघ, साथै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको समेत समर्थनमा सुरु गरिएको आन्दोलनले समग्र यातायात मजदुर स्वरोजगार व्यवसायीको तत्कालीन समस्यालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उजागर गर्न सफल भएका छौ,’ विज्ञप्तिमा उल्लेख  छ ।

निजी सवारीसाधन चलेको अवस्थामा ट्याक्सी पनि मापदण्ड अनुरुप चलाउन पाउनुपर्ने माग व्यवसायीहरुको थियो । रोग र भोकसँगै ऋणले मानसिक रुपमा समेत विक्षिप्त हुनु परेको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका थिए ।

अखिल नेपाल यातायात मजदुर संघ, उपत्यका ट्याक्सी विशेष समिति र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सुरु गरेका थिए । आन्दोलनका क्रममा करिब ५ सय ट्याक्सी यातायात व्यवस्था विभाग अघि राखेर विरोध  गरिएको थियो । 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १६:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया