काठमाडौं– सरकारले बिहीबार एकलौटी रुपमा संसद अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
शर्माद्वारा जारी विज्ञप्तििमा भनिएको छ, ‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरुबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ ।’
यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग कुनै परामर्श नगरिएको र पूर्व सूचना नदिइएको भन्दै शमौले आपत्ति जनाए ।
सरकारले संसद अधिवेशन अन्त्य गरेर संकटका समयमा जनताप्रति उदासीनता प्रकट गरेको उल्लेख गर्दै कांग्रेसले प्रश्न गरेको छ, ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति ?’
यस्तो छ प्रेस विज्ञप्ति:
संघीय संसदको जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ ।
अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्ताव देखि एमसीसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ । यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंग न त कुनै परामर्श गरिएको छ न त पूर्व सूचना दिइएको थियो ।
सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनैतिक दलभित्रको द्वन्द्वको दुश्प्रभाव संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ । विश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कयौंको मृत्यु भएको र हजारौं संक्रमित भएको बेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीति साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।
जनताको जिवन प्रधान कि सत्ताको राजनीति रु सम्माननिय प्रधानमन्त्री समक्ष सार्वजनिक रुपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसदको अधिवेशन हठात अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।