प्रधानमन्त्री ओलीले चाल्ने सम्भावित ३ कदम र तिनको असर
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र चौतर्फी आलोचना भएपछि ठूलो दबाबमा परेका छन् । पार्टीका अन्य नेताहरुले बारम्बार दोहोर्याइरहेका छन्, अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक मात्र विकल्प बाँकी छ, उनले दुवै पदबाट राजीनामा दिनुपर्छ । 

तर, प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरु यो मान्न तयार छैनन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली पनि यसलाई मान्न तयार नभएको र अहिले यो अवस्था नआएको प्रतिक्रिया विभिन्न मिडियामा दिइरहेका छन् ।

पार्टीभित्र संकटमा वा अल्पमतमा प्रधानमन्त्री केपी शर्मा ओली परेको यो पहिलो पटक होइन । यसअघि पनि बारम्बार प्रधानमन्त्री ओली संकटमा परेका थिए । गत वैशाखमा मात्र प्रधानमन्त्री ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले समस्यामा पारेका थिए । 

त्यति बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको साथ लिएपछि तत्कालका लागि नेकपामा युद्धविराम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यति बेला सचिवालय बैठकमा आत्मालोचना गरेका थिए । 

तर, अब ओलीइतरका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्दैमा उनलाई नेतृत्व दिइरहन तयार देखिँदैनन् । बारम्बार माफी माग्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि धोका दिएको र उनले ‘सुध्रने’ छाँटकाँट नदेखाएको यी नेताहरुले निष्कर्ष निकालेका छन् ।

अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधि नियाल्दा उनी कुनै राजनीतिक मुभका लागि तयार भएका छन् भन्ने बुझ्न सकिन्छ । 



आखिर प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्ने सोचिरहेका छन् त ? अबको उनको स्टेप के हुनसक्ला ? यसमा प्रधानमन्त्री ओलीले तीन विषयमा सोचिरहेको हुनसक्ने अनुमान नेकपाकै नेताहरुले लगाएका छन् ।

 



१. अध्यादेश ल्याउने, पार्टी विभाजन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटमा मन्त्रिपरिषद् बैठक नबोलाउने र संसद अधिवेशन अहिले तत्काल अन्त्य नगर्ने सहमती जनाएका थिए ।

तर, दाहालसँग भेट भएको केही समयमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले हतारहतार मन्त्रिपरिषद् बैठक राखे, संसद अधिवेशन अन्त्य गर्ने घोषणा गरे । त्यसअघि उनले बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरिसकेका थिए । यही कारण यो मुभलाई विशेष महत्वका साथ नेकपाका नेताहरुले हेरेका छन् । 

‘यो सब गर्नुको पछाडि उहाँले फेरि राजनीतिक दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याउने र पार्टी विभाजन गर्ने उद्देश्य रहेको अनुमान गर्न सकिन्छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरक धारसँग भने, ‘यस्तो भएको खण्डमा देशमा फेरि एकपटक अस्थिरता हुने निश्चित छ, सरकार फेरिन सक्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यसो गरेमा उनले नयाँ पार्टी गठन गर्न पर्ने हुनसक्छ । नेकपाकै उपाध्यक्ष वामदेव गौतमले यसअघि नै निर्वाचन आयोगमा केही दिन अघि दर्ता गरिएको एमाले पार्टी केपी ओलीकै चाहनामा भएको बताएका छन् । 

यस्तो भएको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पार्टी गठन गर्दा संसदमा उनका लागि बहुमत पुर्याउन निकै सकस पर्नेछ । त्यसका लागि उनले अहिलेका प्रतिपक्षी नेपाली कांग्रेस वा राजपासँग गठबन्धन गरेर आफ्नो सरकारलाई टिकाउन पनि सक्छन् । अन्यथा संसदमा आफ्नो पक्षमा बहुमत पुर्याउन नसकेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्नेछ । अनि देशमा नयाँ सरकार बन्न सक्छ । 

 

२. संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने 

आफूलाई निकै ठूलो संकटमा नेकपाका अन्य नेताहरुले पुर्याइसकेको निष्कर्षमा प्रधानमन्त्री केपी शर्मा ओली पुगिसकेका छन् । उनीनिकट नेताहरुलाई उनले अबको कदम जस्तो पनि हुनसक्ने भन्दै तयार रहन निर्देशन पनि दिएका छन् । पार्टी विभाजन गर्ने मुभलाई केही समय थाँती राख्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भिटो पावर प्रयोग गर्दै अहिलेको संसद विघटन गरिएको घोषणा गर्न सक्छन् । 

यस्तो भएको खण्डमा देशमा नयाँ निर्वाचनका लागि उनले आह्वान पनि गर्न सक्छन् । मध्यावधि निर्वाचनका जानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको उपयुक्त विकल्प देखेका हुनसक्छन् ।

केही दिनअघि मात्र आफूलाई भारतले हटाउन खोजेको र नेपालकै नेताहरुले चलखेल गरिरहेको अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आम जनताबाट सिम्प्याथी लिन खोजेको अनुमान नेकपाका नेताहरुले गरेका छन् । ‘उहाँले आफूलाई थप राष्ट्रवादी हुँ भन्नका लागि यस्तो तर्क दिएको हुनुपर्छ,’ एक नेताले फरकधारलाई भने, ‘प्रधानमन्त्री ओलीले यो कुरा यसै हावा तालमा भन्नुभएको होइन, उहाँले पछाडिको समयलाई सोचेर दिनुभएको हुनुपर्छ । यस्तो भएको खण्डमा उहाँले अब निर्वाचन आह्वान गर्न सक्नुहुन्छ र यस्तै अभिव्यक्तिको आधारमा फेरि आफूलाई बलियो बनाउने सोच्न सक्नुहुन्छ ।’

 

३. फेरि आत्मालोचना गर्ने, अगाडि बढ्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफूलाइ सच्याउने वाचा स्थायी कमिटी बैठकमा गर्न सक्छन् । यसअघि सचिवालय बैठकमा आत्मोलचना गरेसँगै उनलाई पार्टीका अन्य नेताहरुले आलोचना गर्न मात्र छोडेनन्, अगाडि बढ्नका लागि साथ दिने पनि बताएका थिए । 

अब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग यही विकल्प पनि बाँकी रहेको उनीनिकट नेताहरुले छलफल गर्न सक्छन् । ‘उहाँले फेरि आत्मोलचना गर्नुभयो र पार्टीका निर्णयहरु मान्ने वाचा गर्नु भयो भने अहिले तत्काल सबै संकट हट्न सक्छन्,’ नेकपाका एक नेताले फरकधारलाई भने, ‘र, अहिलेका लागि तत्काल सबैभन्दा उपयुक्त निर्णय यही पनि हुनसक्छ ।’

  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार २१:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया