नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । चैतमै गर्नुपर्ने महाधिवेशन लकडाउनका कारण सारिएको बताउँदै उनले हालकै अवस्था रहे अब तोकिएको दिनमै महाधिवेशन हुने बताए ।
शुक्रबार चन्द्रागिरी हिल्सको अवस्थाबारे जानकारी दिन चन्द्रागिरी पुगेका उपाध्यक्ष ढकालले तोकिएको मितिमै महाधिवेशन गर्ने गरी नै महासंघले कार्यक्रम अगाडि बढेको बताए ।
महाधिवेशनका लागि काठमाडौंमा आउनुपर्ने १ सय ५ जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्व र वस्तुगत संघका नेतृत्वलगायत गरी करिब ४ सयको संख्यामा हुने र सामाजिक दुरी कायम गरी तोकिएकै दिन महाधिवेशन हुने विश्वास रहेको उनको भनाइ थियो ।
लकडाउन भन्दा पहिला चुनावी क्रियाकलाप बढी रहेको र अहिले पनि सहमतिमा चुनावमा सहभागिता जनाउन सकिने ठाउँ रहेको उनले बताए । वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गरेका ढकालले चुनावलाई केन्द्रीत गरेर कुनै गुटगत राजनीति नगरेको स्पस्ट पारे ।
स्वास्थ्य सुरक्षाका प्रोटोकललाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघको रहेको उपाध्यक्ष ढकालले बताए ।
सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी प्रोटोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।
पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्सलगायत क्षेत्र पनि सुरक्षित रुपमा सञ्चालन गर्न दिनुपर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।