मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने– म र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीमा भइरहेको राजनीतिक विवाद साम्य नभएको खण्डमा कुनै ‘बोल्ड स्टेप’ चाल्न आफू बाध्य हुनु पर्ने अवस्थाको संकेत गरेका छन् । 

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री तथा राज्यमन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र राष्ट्रपतिविरुद्ध षडयन्त्र भइरहेको भन्दै अवस्था गम्भीर हुँदै जाने देखिएमा जस्तोसुकै निर्णय लिन आफू बाध्य हुनसक्ने बताएका छन् । 

‘अवस्था यहाँसम्म पुगिसक्यो कि म र राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र भइरहेको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले फरकधारलाई बताए, ‘मैले बाइफोर्स कुनै निर्णय लिनु पर्ने हुनसक्छ, यो अवस्था र मविरुद्धको षडयन्त्रलाई रोक्न जुनसुकै निर्णयमा पनि म पुग्नु पर्ने हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले यो समयमा मन्त्रीहरुलाई तपाईंहरु कुन पक्षमा जाने वा कुन पक्ष लिने भनेर सोधिनु पर्ने अवस्था पनि आउन सक्ने मन्त्रीहरुलाई बताएका छन् । 

एक मन्त्रीले फरकधारलाई भने, ‘प्रधानमन्त्री ओली निकै सशंकित देखिनु भएको छ, उहाँलाई आफूविरुद्ध ठूलै षडयन्त्र भइरहेको आभास भएको रहेछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाभियोगको लगाउने हल्लाको विषयमा केही पनि बताएनन् तर उनी पनि यो विषयमा जानकार भएको हुनसक्ने ती मन्त्रीले जानकारी दिएका छन् । 



‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट आफू र राष्ट्रपतिविरुद्ध पनि अविश्वासको प्रस्ताव ल्याउन लागेको जस्तो बुझिन्थ्यो,’ ती मन्त्रीले भने, ‘बैठकमा प्रधानमन्त्री ओली निकै कडा भएर प्रस्तुत भएका थिए । उहाँलाई अहिलेको अवस्था ट्याकल गर्न सहज नभएको अनुमान गर्न सकिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रीहरुसँग यो छलफल गर्नुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । 



  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार २१:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया