नेकपामा ओली समूह फेरि वामदेव फकाउन व्यस्त

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति संघर्षलाई फेरि सहज बनाउन र पार्टीलाई विभाजनबाट रोक्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले फेरि एकपटक नेकपा उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन प्रयास गर्न थालेको छ । यही सिलसिलामा प्रधानमन्त्री ओली समूहका नेताहरुले बारम्बार वामदेव गौतमसँग भेटघाट गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गौतमलाई अहिले ओलीको साथ दिन अनुरोध गरेकी छिन् ।

यही क्रममा शुक्रबार अबेर साँझसम्म भैंसेपाटीमा रहेको गौतम निवासमा ओली समूहका केही नेताहरु राति अबेरसम्म रहेको बुझिएको छ । शुक्रबार नै गौतमलाई राष्ट्रपति भण्डारीले भेटेकी थिइन् । यो भेटमा नेकपा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

पछिल्लो समय गौतम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहेकाले उनलाई त्यहाँबाट निकाल्ने र प्रधानमन्त्री ओलीको समर्थनमा लैजानका लागि यी प्रयास भएका हुन् । तर, गौतमले यसबारे आफ्नो धारणा अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यसअघि उनले आफू ओली समूहमा नरहेको चाहिँ स्पष्ट पारेका थिए । 

केही अघिमात्र उनको सचिवालयबाट जारी भएको एक विज्ञप्तिमा ओलीका कारण पार्टी र सरकारको नै छविमा ठूलो क्षति पुगेको निष्कर्ष गौतमको रहेको स्पष्ट पारिएको थियो । 

‘भेटघाट र छलफलहरु भइरहेका छन्,’ नेकपाका एक केन्द्रीय सदस्य तथा गौतमनिकट नेताले फरकधारलाई भनेका छन्, ‘तर, उहाँले आफू कुन समूहमा हुँ भन्नेबारे केही बताउनु भएको छैन । उहाँले ओली समूहका नेताहरुबाट आएको प्रस्तावबारे पनि छलफल गर्ने मात्र भनिरहनु भएको छ ।’



प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ गौतमलाई अब महाधिवेशनपछि पार्टीको नेतृत्व दिने प्रस्ताव गरेका छन् । 

‘यस्तै प्रस्ताव आएको छ, यसअघि पनि गत वैशाखमा प्रधानमन्त्री ओलीले उचित समयमा सरकारको नेतृत्व नै गौतम कमरेडलाई दिने कुरा आएको थियो,’ ती नेताले भने, ‘तर, बारम्बार उधारो सहमति भएको बुझाइ भएकाले के हुन्छ भन्ने अहिले यत्तिकै भन्न सकिँदैन ।’



अर्कोतिर गौतमलाई फकाउन ओलीनिकट नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र तथा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल सक्रिय भइरहेका छन् ।

यसपटक गौतमलाई फकाउन ओलीसमूहका नेताहरुले जबजको कार्ड फालेका छन् ।

‘जनताको बहुदलीय जनवादको नेता तपाईं हो, त्यसैले अब पार्टीको नेता नै तपाईं हो, हाम्रो नेता तपाईं भएकाले यसलाई बुझेर अगाडि बढिदिनु पर्यो,’ शुक्रबार साँझ गौतम निवासमा भेला भएका नेताहरुले भनेको कुरालाई गौतमनिकट ती नेताले फरकधारलाई सुनाए, ‘अब पार्टी र सरकारको नेतृत्व तपाईंले गर्ने हो ।’

तर, वामदेव गौतम यस्तो प्रस्तावबाट यसपटक लोभिने पक्षमा नरहेको ती नेताले जनाए । 

‘उहाँलाई बारम्बार यस्ता अफर आएका पनि हुन्,’ उनले भने, ‘तर, बारम्बार नै धोखा भएको भन्दै उहाँले अहिले तत्काल यी विषयमा कुनै जवाफ दिनु भएको छैन ।’

उनका अनुसार यसपटक गौतमको बटमलाइन छ– प्रधानमन्त्री ओलीले कि अध्यक्षबाट कि प्रधानमन्त्रीबाट राजीनामा दिनै पर्छ । 

यसअघि गत वैशाखमा देखिएको नेकपा विवादमा पनि उपाध्यक्ष गौतमले ओलीको साथ लिँदा तत्कालीन नेकपा युद्ध सामसुम भएको थियो । वैशाखमा सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दा गौतमले आफू ओलीको साथमा रहेको जानकारी दिएपछि यो विवाद सामसुम भएको थियो । त्यति बेला प्रधानमन्त्री ओलीले अबको प्रधानमन्त्रीका रुपमा गौतमलाई अगाडि सारेका थिए ।

  • प्रकाशित मिति : असार २०, २०७७ शनिबार २२:३५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया