औपचारिक गुरुविनै सिकेँ गायन

म दिल्लीमा जन्मिएँ । बाबाआमाका अलावा एक सानी बहिनी थिई । सानैदेखि गीत धेरै गुनगुनाउँथे । घरका सबै संगीत सुन्न मन पराउनुहुन्थ्यो, तर कोही पनि ‘प्रोफेसनल’ गायक थिएनन् । घरको माहोलका कारण मैले सानैदेखि राम्रो संगीत सुन्न पाएँ । बाबाले यसमा मलाई धेरै प्रोत्साहित गर्नुभयो । सायद त्यसैले होला, मलाई सानो छँदै अरूले अप्ठ्यारो भन्ने गरेका गीत राम्रो र सुरिलो लाग्न थाल्यो । 

गीत गाउँदा मलाई कहिल्यै थकाइ लागेन । म दिनभर एकपटक पनि नरोकिईकन गाउन सक्थेँ । त्यो हदसम्मको लगाव थियो, ममा संगीतप्रति । म एकदमै गाह्रा–गाह्रा प्रवृत्तिका गीत छानेर गाउँथेँ । मलाई सजिला गीत त गीत नै होइनन् जस्तो लाग्थ्यो । संगीत त गहिरो, गहन पो हुनुपर्छ, सबैले गाउन सक्ने गीत पनि के गीतजस्तो लाग्थ्यो । त्यसैले पनि म स्कुलमा हुने हरेक कार्यक्रममा भाग लिन्नथेँ । त्यहाँ गाइने सबै गीत सजिला हुन्थे, त्यसो हुँदा मलाई गाउनै मन लाग्दैनथ्यो । मेरो दिमागमै थियो, मलाई गाउन मुस्किल पर्ने गीत गाउनु छ । 

लता मंगेशकरका गीत गाएर नै म हुर्कें । म प्रायजसो कार्यक्रममा उनका गीत गाउँथे । उनका गीत गाउन गाह्रो हुने र सुन्दा मीठो सुनिने भएकाले म उनका गीत गाउँथे । मलाई त्यतिवेला एकदमै मन पर्ने गीतहरूमा– नैना बरसे रिमझिम–रिमझिम, कहीँ दीप जले कहीँ दिल, चिठीये, य समा...समा है ये प्यारका, मेरे महबुब न जा और मोरनी बागा मा बोले । मैले क्यासेट सुनी–सुनी गीत गाउन सिकेँ । यही कारण थियो, मैले कहिल्यै गुरुबाट सिकिनँ । गायनको कुनै पनि औपचारिक शिक्षा लिएकी छैन । जे–जति पनि सिकेँ, गायकहरूको गीत सुनेरै सिकेँ । 

मेरो गायन यात्रा चार वर्षको कलिलै उमेरमा सुरु भएको हो । त्यसताका दिल्लीमा देवी आमाको जागरण कार्यक्रम खुबै हुन्थे । म प्रायजसो ती कार्यक्रममा गाउँथे । मलाई प्रायजसो कार्यक्रममा बोलाइन्थ्यो । म यति सानी थिएँ कि  कार्यक्रममा एक्लै जानै सक्दिनथिएँ । मलाई बाबाले लिएर जानुहुन्थ्यो । सबै कार्यक्रममा बाबा मसँगै हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि ‘टु ह्विलर’मा मलाई पछाडि बसाएर बाबाले मफलर या च्यादरले बाँध्नुहुन्थ्यो ताकि म निदाउँदा नलडूँ । म उहाँसँग पछाडि बसेर मज्जाले निदाउँदै घर फर्किन्थेँ । म अहिले पनि ती दिनहरू धेरै मिस गर्छु । 

बाबाले हामीलाई खुबै हसाउनुहुन्थ्यो । अभिनय पनि राम्रो गर्नुहुन्थ्यो । उहाँले दिल्लीमा हुने राष्ट्रिय स्तरका रामलीलामा बाह्र वर्ष काम गर्नुभयो । श्रीरामको ‘रिपर्टरी’का कैयन् नाटकमा उहाँले काम गर्नुभयो । बाबाले थिएटरको दुनियाँमा मोहन उप्रेती, रञ्जित कपुरजस्ता दिग्गज अभिनेतासँग काम गर्नुभयो । बाबाको अभिनय धेरैले मन पराउँथे, तारिफ गर्थे । म पनि उहाँको प्रशंसक हुँ, उहाँले अभिनय गरेका नाटक हेर्न मलाई निकै मज्जा लाग्थ्यो । आफ्नो नाटक हुँदा उहाँ हामी सबैलाई हेराउन लैजानुहुन्थ्यो । 

बाबाकै प्रेरणाले नै मलाई नाटकमा पनि रुचि लाग्न थालेको हो । बाबालाई देख्दा मनमा लाग्थ्यो, अब म ‘एक्टिङ’ गरूँ, तर मेरो गायनतिर ज्यादा झुकाव थियो । बाबाले पनि मलाई संगीततिर नै फोकस हुन भन्नुभयो । त्यसपछि मैले आफ्नो बलबुताले भ्याएसम्म संगीतमा समय दिन थालेँ । एकपटक मेरो ‘सो’मा अभिनेत्री तबस्सुमज्यु पनि आउनुभएको थियो । उहाँलाई मेरो गीत मन परेछ । पछि मलाई मुम्बई बोलाउनुभयो । उहाँले हामीलाई कल्याणजीकहाँ पठाउनुभयो । उहाँका लागि मैले एउटा गीत गाएँ । कल्याणजीलाई मेरो गायकी मन परेछ । उहाँले मलाई आफ्नो ‘ग्रुप’मा सामेल गराउनुभयो र त्यहीँबाटै मेरो औपचारिक गायनयात्रा सुरु भयो । 



बाबालाई पनि छोरी अब मुम्बईमै बस्न जरुरी छ भन्ने सोचिसक्नुभएको रहेछ । उहाँले मेरा लागि आफ्नो करिअर नै छाड्नुभयो । मेरै लागि भनेर मुम्बई सिफ्ट हुनुभयो । यो कुरो सन् १९९४ तिरको हो । बाल्यकालमा म एकदमै सुशील थिएँ । म प्रायजसो घरमै हुन्थेँ । घरमा आएका नातेदार तथा घररिवारसँग भेट्नु, नाच–गान गर्नु, भाइबहिनीसँग हाँसीमजाक गर्दै बस्नु नै मेरो दिनचर्या थियो । यस अर्थमा मेरा बालापन अन्य बच्चाको तुलनामा फरक थियो । सानै उमेरमा ‘सो’मा जान सुरु भएकाले मेरो स्कुल धेरैजसो छुट्थ्यो । 

धेरैपटक मैले होमवर्क गर्न समय नपाएको सम्झना छ । त्यसैले मलाई शिक्षकहरू हकार्दै भन्थे– तिमी अरू सबै कुरामा त राम्रो छां, तर होमवर्क सधैँ गर्नुपर्यो । 
म संगीतमा यति लिन भइसकेकी थिएँ कि मलाई यस्ता कुराले छुँदैछुदैनथ्यो । म सुन्थेँ मात्र । त्यसमाथि घरमा मलाई आमाबाबाको पूर्ण समर्थन थियो, त्यही भएर नै होला म धेरै पुल्पुलिएकी । मलाई ‘टिचर’हरूले कराउँदा पनि डर लाग्दैनथ्यो । बाबाआमाले पनि मलाई पढ कि पढ भनेर कर गर्नुभएन । यस्तो अनकूल माहोलमा हुर्कन पाएकाले मैले संगीतमा प्रशस्त समय दिन पाएँ । 



तर, टिचरको गाली र ठड्याइसँगै जोडिएको एउटा रमाइलो प्रसंग पनि छ । मेरो गीत सुन्नेहरू यति मग्न हुन्थे कि मैले होमवर्क गर्न नभ्याएका वेला साथी र टिचरहरूले नै पनि गरिदिनुहुन्थ्यो । १० कक्षापछि मैले औपचारिक शिक्षा छाडिदिएँ । 

  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार ७:२५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया