कांग्रेस केन्द्रीय समिति बैठकमा देउवाले भने– नेकपाका दुवै पक्षका मानिस भेट्न आएका छन्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी शक्ति संघर्षका कारण नेपाली काङ्ग्रेसमा पनि अब तरंग आउन थालेको छ । १७ असारमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग गरेको भेटघाट र आज आइतबार ओलीको दूत बनेर सुवास नेम्वाङ उनीसँग भेट्न गएपछि काङ्ग्रेसमा यो विषयमाथि बहस हुन थालेको हो ।

आइतबार काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको केन्द्रीय समिति बैठकमा पनि यसबारे प्रश्न उठ्यो । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत सभापति शेरबहादुर देउवालाई पछिल्लो समयको राजनीतिक खिचातानीबारे प्रश्न गरे । 

केन्द्रीय सदस्यहरुले यसबारे प्रश्न उठाएपछि देउवाले आफूले नेकपाका दुवै पक्षका नेताहरुसँग भेट भएको जानकारी दिए । ‘दुवै पक्षका नेताहरु भेट गर्न आइरहेका छन्,’ उनले बैठकमा भनेको कुरालाई एक केन्द्रीय सदस्यले फरकधारलाई सुनाए, ‘ओली र प्रचण्ड दुवै पक्षले भेट्न खोजिरहेका छन्, मैले पनि सबैसँग भेटेको छु ।’

यसरी भइरहेको भेटमा आफूले कुनै पनि वचन कुनै पनि पक्षलाई नदिएको पनि देउवाले बैठकमा सुनाएका थिए । 

‘मलाई भेट्न आउनेहरुलाई मैले तपाईंहरुको पार्टीको आन्तरिक द्वन्द्व तपाईंहरु नै मिलाउनुहोस् भनेको छु,’ बैठकमा सहभागी ती नेताले देउवाको भनाइलाई उद्धृत गर्दै फरकधारलाई टेलिफोनमा सुनाए, ‘कसैलाई पनि कुनै वचन दिएको छैन । तर, बुझ्दा अब नेकपा फुट्छ भन्ने लागेको छ ।’

उनले ओली र प्रचण्ड पक्षका नेताहरुले आफ्नो साथ लिनका लागि अनुरोध गरेको पनि बैठकमा सुनाएका छन् । ओली पक्षका नेताले त संसदहरुको संख्या र भोलि फुटपछि कसरी अगाडि बढ्ने भन्ने कुरासम्म आफूलाई सुनाएको देउवाले केन्द्रीय समिति बैठकमा बताएका छन् ।



आइतबार मात्र प्रधानमन्त्री ओलीका दूत बनेर सुवास नेम्वाङ आफूसँग भेट गर्न आएको पनि देउवाले बैठकमा जानकारी दिएका छन् । उनले बैठकमा भने, ‘उहाँले परिस्थिति जे पनि हुनसक्छ, जस्तो परिस्थिति आए पनि तयार रहन प्रधानमन्त्रीको अनुरोध छ भन्ने सुनाउनु भएको थियो ।’

देउवाले पछिल्लो भेटबारे बताएपछि नेपाली काङ्ग्रेसमा नेकपा विभाजनको मोडमा पुगेको विषयले तरंग सिर्जना गरेको हो ।



  • प्रकाशित मिति : असार २१, २०७७ आइतबार १९:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया