बालुवाटारमा ओली–प्रचण्ड भेटघाटः सहमती हुने सम्भावना कति छ ?
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्ला केही दिन यता देखिएको विवादका कारण नेपाली राजनीति तरंगित भएको छ । नहोस् पनि किन नेकपाको विवाद कुन हदसम्म पुगेको छ भने दुई वर्षअघि एकता भएर बनेको पार्टी फेरि विभाजन हुने संकेत देखिएको नेकपाका शीर्ष नेताले नै बताउन थालेका छन् । 

यो विभाजनका लागि आफूलाई हटाउन भारतले नेपाली र नेकपाकै नेताहरुको प्रयोग गरेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । उनको यो आरोपलाई जवाफ दिँदै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभएर ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट आफूले राजीनामा दिन लगाएको बताएका छन् । 

ओलीले आफूनिकट नेताहरु र प्रचण्डले आफूनिकट नेताहरुलाई अब पार्टी विभाजनमा जाने निश्चित भइसकेको र त्यहीअनुसार तयार रहन अनुरोध समेत गरेका छन् । उनीहरु दुवैले आआफ्ना गुटका नेताहरुलाई प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न समेत पठाएका छन् । 

यी दुई अध्यक्षलाई अहिले सचिवालय सदस्यहरुले पनि आआफ्नो कित्ता बनाएर सहयोग गरेका छन् । नेकपामा हेभीवेट माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमहरु प्रचण्ड पक्षमा देखिएका छन् । सचिवालय सदस्य तथा नेकपा महासचिव विष्णु पौडेल ओलीलाई साथ दिइरहेका छन् । अनि नेपाल, खनाल र गौतमले मात्र होइन, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत नेकपामा विभाजनको पक्षमा वकालत गरिरहेका छन्, ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । 

यही सन्दर्भमा नेकपाले बारम्बार आफ्नो स्थायी कमिटी बैठक स्थगित गरेको छ । पहिलो पटक शनिबार स्थगित भएको स्थायी कमिटी बैठक फेरि सोमबार स्थगित भएर बुधबारका लागि बस्ने भनिएको छ । तर, बुधबारसम्म पनि दुई अध्यक्षबीच सहमति नभएमा स्थायी कमिटी बैठक फेरि स्थगित हुने निश्चित भएको नेकपा स्थायी कमिटीका एक सदस्यले बताएका छन् ।

‘दुवै जना एक्स्ट्रिम देखिएको यो समयमा सहजै एउटा सहमतिको आधार बन्छ भन्ने लाग्दैन,’ ती स्थायी कमिटी सदस्यले फरकधारलाई भने, ‘यस्तै अवस्था हो भने स्थायी कमिटी बैठक बुधबार पनि स्थगित हुनेछ ।’



हामीले उनलाई प्रश्न राख्यौँ– आज प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सहमती हुने सम्भावना कति छ त ? 

‘अत्यन्त कम सम्भावना देखिन्छ, किनकि अहिले प्रचण्ड र नेपाल पक्षले जुन माग उठाएका छन्, त्यसको बटमलाइनमा बसेर पनि ओली छलफल गर्न तयार छैनन्,’ उनले भने, ‘ओली पक्षको जुन माग छ, त्यो खासमा वार्ता र सम्झौताको प्रवेश बिन्दुमा नै पुग्दैन ।’



यसअघि वैशाखमा देखिएको नेकपाको विवादमा वामदेव गौतमले ओलीलाई साथ दिएपछि तत्कालका लागि नेकपामा युद्धविराम भएको थियो । ‘यसपटक उहाँले पनि आफूमाथि बारम्बार धोखा भएको भन्दै हुनुहुन्छ र उहाँले पनि आफ्नो कित्ता परिवर्तन गर्ने देखिँदैन,’ उनले भने, ‘त्यसैले आजको बैठक पनि अर्को बैठक गर्ने सहमती भन्दै टुङ्गिने सम्भावना रहेको छ ।’

  • प्रकाशित मिति : असार २२, २०७७ साेमबार ११:८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया