काठमाडौं– ११ दिनयता सत्याग्रहमा बसिरहेका ‘इनफ इज इनफ’का प्रतिनिधिको माग अनुसार आरडिटी परीक्षण रोक्न सरकारी टोली सहमत भएको छ । सरकारी प्रतिनिधि र अभियानका अनसनकारीबीच सोमबार भएको वार्तामा सो सहमति भएको हो ।
कोरोना संक्रमण नियन्त्रण कार्यलाई पारदर्शी र प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने माग गर्दै इनफ इज इनफ अभियानका इशान (ई) र पुकार बम ११ दिनदेखि अनसनमा छन्।
स्वास्थ्य मन्त्रालयले डा. रोशन पोखरेल, डा. सन्तोष पौडेल र डा. समीर अधिकारीसहितको तीन सदस्यीय वार्ता टोली गठन गरेर अनशनकारीसँग वार्ता अघि बढाएको छ । यसअघि प्रधानमनत्री केपी शर्मा ओलीले पनि उनीहरुसँग भेट गरेका थिए ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक तथा वार्ता टोलीका सदस्य डा. पौडेलका अनुसार उनीहरुले अनशनकारीको मागअनुसार आरडिटी परीक्षण रोक्ने सहमति जनाएका छन् ।
अनशनकारीले विदेशबाट आएपछि होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरु सबैको पिसिआर परीक्षण गर्नुपर्ने माग गरेकोमा सरकारी टोलीले प्राविधिक र व्यवहारिक रुपमा सम्भव हुनेजतिको गर्ने प्रतिबद्धता जनाएको छ ।
अहिले वार्ता जारी नै रहेको र भोलिसम्ममा कुराकानी निष्कर्षमा पुग्ने सम्भावना रहेको अनशनकारीका प्रतिनिधिले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।