कवाड टिप्ने हुलियामा सुनचाँदी पसलमा चोरी

काठमाडौं– आपराधिक समूहले विभिन्न उपाय अप्नाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

अनुसन्धानका क्रममा उनीहरुले कागज बोतल सङ्कलन गर्ने व्यक्ति (कबाड टिप्ने व्यक्ति) को हुलिया बनाई साइकल लिई विभिन्न सुनचाँदी पसलको हप्ता दिनसम्म निगरानी गरी मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोरेर चोरी गरेको तथ्य फेला परेको हो ।

उक्त गिरोहले गत फागुन १८ गते लाजिम्पाटस्थित दिलीपकुमार श्रेष्ठले सञ्चालन गरेको पवि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुनका गरगहना र आठ किलो ५६० ग्राम चाँदीका गरगहना तथा नगदसमेत गरी रु ८५ लाख, ८५ हजार चोरी गरी लगेका थिए । घटनाको अनुसन्धानका सिलसिलामा महाशाखाबाट खटिएको विशेष टोलीले आइतबार मोरङ उर्लाबारीबाट सुमित भन्ने गङ्गाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई र सोही घटनामा फरार रहेका बिक्रम भन्ने जङ्गबहादुर माझीलाई सोमबार दरबारमार्गबाट पक्राउ गरिएको महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ । 

उक्त घटनामा संलग्न रहेका एकजना भने केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको तथा अन्य दुई भारतीय मुलका फरार अभियुक्तको खोजी जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । उनीहरु दुईवटा समूहले जेलमा बस्दा चिनजानको आधारमा छुटेपश्चात पुनः भेला भई जेल छुट भएको एक महिना नबित्दै आफ्नो म्यादीलाई समेत बोलाइ चोरी गरेको फेला परेको छ । गिरोहले चोरी कार्य छोडी डण्डी फर्मा, लेबर काममा लागेका, सुध्रिएर बसेका आफ्ना पुराना म्यादीलाई समेत परिचालन गरेको खुल्न आएको छ । 





  • प्रकाशित मिति : असार २३, २०७७ मंगलबार १६:३४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया