बाढीपहिराेबाट म्याग्दीमा मृत्यु हुनेकाे संख्या २७ पुग्याे

भारी वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरामा मृत्यु हुनेको २७ पुगेको छ । धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या शनिबार २७ पुगेको हो । पशुचौपायालगायत अन्य क्षति बारे लेखाजोखा हुन सकेको छैन ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार शनिबार राति साढे ८ बजेसम्मा २७ जना व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा शवहरु उत्खनन गरी सनाखतसमेत गरिएको छ ।

प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जारी गरेको विज्ञप्ति अनुसार धौलागिरिका १८, मालिकाका ८ र रघुगंगा गाउँपालिकाका १ जनाको शव भेटिएको बताए । हालसम्म १२ जना घाइतेहरुलाई उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य केन्द्रहरुमा पठाइएको छ ।

जिल्लाभरबाट करिब ८९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । घौलागिरि गाउँपालिकाबाट ५९० जना, मालिका गाउँपालिकाबाट १९६, रघुगंगा गाउँपालिकाबाट ८५ जना र बेनी नगरपालिकाबाट २५ जरी ८९६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले बताएको छ । प्रभावित क्षेत्रहरुमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजन साथै विभिन्न संस्थाहरु समेतको सहयोगमा पाल, ब्ल्याङकेट, म्याट र कम्बल, खाद्यान्नलगायत राहत सामग्री वितरण गरिएको छ ।

पहिरोका कारण मालिका गाउँपालिका बिम, दुले र नुरवाङ र धवलागिरि गाउँपालिकाका मराङ, कल्लेनी, राम्चे र रिखा बढी प्रभावित भएको छ । पहिरोबाट ५० बढी घरका ७ सय जना विस्थापित भएका छन् । विस्थापितमध्ये सिवाङ माविमा ८०, दलित सामुदायिक भवन राम्चे, मराङमा २ सय ५०, जनविकास आधारभूत विद्यालय अर्वाङमा २ सय र अन्यलाई विमको किसानी मावि र आफन्तकोमा राखिएको छ । उनीहरुका लागि ३ देखि ५ दिनलाई पुग्ने ५० बोरा चामल, दाल, नुनतेल समेतको खाद्यान्न पुर्‍याइएको छ । सिवाङमा रहेका कल्लेनी र ताकमका विस्थापितलाई धौलागिरि गाउँपालिकाले छुट्टै खाने व्यवस्था मिलाएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले बताए ।





  • प्रकाशित मिति : असार २७, २०७७ शनिबार २१:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया